डा. सीके राउतको खतरनाक पोस्ट : “स्वायत्त मधेश प्रदेश घोषणा गरौं”
काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले मधेश प्रदेशलाई स्वायत्त घोषणा गर्न माग गरेका छन् । आफ्नो फेसबुक पोस्टमा राउतले मधेशको नेतृत्व तथा संस्थाहरूमा केन्द्रबाट हस्तक्षेप भइरहेको आरोप लगाउँदै अब स्वायत्त बनाउनुपर्ने माग गरेका हुन् ।
उनले आफ्नै प्रदेश प्रहरी र प्रशासनसहितको सरकार गठन गर्न माग गरेका छन् । ‘मधेश प्रदेशसभाको बैठकबाट मधेश प्रदेशको स्वाययत्ता घोषणा गरौं, आफ्नै प्रदेश प्रहरी र प्रशासनसहितको सरकार गठन गरौं। डराएर सदियौं नेपाली शासकको गुलामी गर्यौं, अब खुलेर बोलौं’. उनले लेखेका छन्, ‘संविधानलाई धज्जी उडाउँदै नेपाली औपनिवेशक शासकले खटाएका प्रदेश प्रमुख, सभामुख, निर्वाचन आयोग र उनीहरूको अदालतले जे पनि गर्न मिल्छ, मधेशका पार्टीलाई छिन्नभिन्न पार्ने, कटेजमा गएर शपथ ग्रहण गराउने, मधेश पक्षधर नेता, कार्यकर्ता र समर्थकमाथि प्रतिशोध साध्दै दमन गर्ने काम गर्छ भने हामीले मधेश प्रदेशसभाको बैठक सडकमा नै डाकेर भए पनि मधेश प्रदेशलाई स्वायत्त घोषणा गरौं।’
‘मधेश हाम्रो हो र यहाँ हाम्रो आफ्नै शासन हुनैपर्छ। सिंहदरबारबाट पठाइएका प्रदेश प्रमुख, सभामुख, निर्वाचन आयुक्त, अख्तियार, प्रहरी, सचिवसहितका कर्मचारी लगाएर ५४ प्रतिशत जनसंख्या भएको मधेशलाई एक हुन नदिने, छिन्नभिन्न गरिराख्ने, दमन गरिराख्ने र सधैं गुलाम बनाइराख्ने षड्यन्त्रविरुद्ध पूर्ण स्वायत्तताको आन्दोलनको उद्घोष जरूरी छ। नेपाली औपनिवेशिक शासनको अन्त्य गर्ने सही मौका यही हो’, उनले लेखेका छन् ।
