कार्की सरकारलाई हाहु र अदृश्य शक्तिले बनाएको हो : ओली
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सुशीला कार्की नेतृत्वको सरकार असंवैधानिक र आतंक सिर्जना गरेर बनेको हाहुको सरकार भनेर पुनः टिप्पणी गरेका छन्। आज शुक्रबार विद्वत वर्गसँग अन्तरसंवाद गर्दै ओलीले भने, ‘अहिलेका प्रतिगमनकारीको कुनै धरातल छैन, यो अदृश्य शक्तिबाट बनेको छ। मैले हाहुको सरकार भनेको थिएँ। वास्तवमै हाहुमा बनेको सरकार हो ।’
उनले भने, ‘आगो लगाएका भरमा, तोडफोड गरेका भरमा, अराजकता, आतंक मच्चाएका भरमा एउटा आतंककारी अभ्यास गरेका भरमा शासनमा डिस्कर्डबाट पुगेको अरे।’ डिस्कर्डबाट प्रधानमन्त्री चुन्ने परम्परा सभ्य समाजमा कतै पनि नभएको पनि ओलीले बताए। उनले भने, ‘डिस्कर्डबाट कहीँ डेमोक्रेसीमा, सभ्य समाजमा, डिस्कर्डमा भोटिङ पनि गरे अरे ? दुई तीन हजार केटाकेटी डिस्कर्डमा भेला भए भोटिङ पनि गरे अरे।’
त्यसरी चुनाव गर्न कसले भनेको ? भनेर पनि ओलीले प्रश्न गरे । ‘कल्ले भन्यो त्यो ? मतपत्र कस्तो थियो ? रेजा लायो कि प्वाल पार्यो अमेरिका जस्तो, के गर्यो ? यस्ता हावाका भरमा बनेको हाहुको सरकार असंवैधानिक हो’, उनले भने।
ओलीले बलिया हुनुपर्ने कम्युनिष्ट पार्टी सारै सेन्टिमेन्टल देखेको पनि टिप्पणी गरे । उनले भने, ‘कम्युनिष्टहरू बलिया हुनुपर्ने, झन् सेन्टिमेन्टल भएको देखेँ यो पाली । कुनै एक प्रतिक्रियावादीले छिसिक्क केही गरे कोही संस्था छोड्ने, कोही पार्टी छोड्ने, कोही नेतालाई गाली गर्ने परिपाटी बढेको छ ।’
ओलीले अरूले गरेको गल्तीको दोष पार्टी र नेतृत्वलाई नजाने बताए । कार्यक्रममा ओलीले भने, ‘गल्ती र बदमासी गर्छन् प्रतिक्रियावादीले अनि गाली गर्छन् आफ्नो पार्टीलाई छोड्छन् आफ्नो राजनीति, छोड्छन् आफ्नो विचार, दर्शन । यत्ति सारो सेन्टिमेन्टल नहुनुपर्थ्यो भए किन हो थाहा छैन ।’
अहिले पार्टीभित्र भएको विचारको विचलनलाई अल्मुनियमसँग तुलना गर्दै यतिबेला कम्युनिष्ट विचार बोक्ने पातलो अल्मुनियम जस्तै भएको टिप्पणी गरे । अध्यक्ष ओलीले भने, ‘यस्तो साह्रो तात्ने र सेलाउने त अल्मुनियम पनि हुँदैन । पातलो अल्मुनियम जस्तो छिट्टै तात्ने छिट्टै सेलाउने । हामी हुनुहुँदैन । हामी एउटा महान उद्देश्य लिएर जन्मिएका हौँ ।’
ओलीले कम्युनिष्ट आन्दोलन महान उद्देश्यका साथ स्थापित भएको भन्दै उद्देश्यबाट विचलित हुने छुट एमालेलाई नरहेको बताए । उनले भने, ‘हाम्रो आन्दोलन हाम्रो पार्टी महान उद्देश्य र आन्दोलन लिएर जन्मिएको हो । व्यक्ति त्यसमा लाग्यो भने महान उद्देश्य अनुसार अघि बढ्छ । लागेन भने नहुन पनि सक्छ । तर आन्दोलन महान उद्देश्य लिएर नै जन्मिएको हो ।’
संविधानले नगर्नु भनेका ठाउँमा प्राधानन्यायाधीश मानवअधिकार आयोगमा बाहेक कुनै जागिर खान नमिल्ने उनले दृष्टान्त सुनाए। ‘जानीजानीकन पूर्व प्रधानन्यायाधीश बनेको मान्छे आफैले संविधान मिचेर प्रधानमन्त्री हुन तयार। यो भनेको साझै असंवैधानिक, प्रतिगामी, संविधान मिचुवा, हाहुको भरमा बनेको सरकार,’ ओलीले भने।
