१० दल एकतामा पनि प्रचण्ड संयोजकमा चयन
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) सहित १० दल एकता भएर बनेको नेपाली कम्युनिस्ट पार्टीको संयोजकमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ चयन हुनुभएको छ ।
एकता राष्ट्रिय सम्मेलनबाट माधवकुमार नेपाल सहसंयोजक चयन हुनुभयो । सम्मेलनमा अध्यक्ष मण्डलका सदस्य महिन्द्र राय यादवले नवगठित पार्टीको संयोजकमा दाहाल र सहसंयोजकका रूपमा नेपालको नाम प्रस्ताव गर्नुभएको थियो ।
उक्त प्रस्तावलाई सम्मेलनले सर्वसम्मत रूपमा अनुमोदन गरेको हो । त्यसक्रममा नेपाली कम्युनिष्ट पार्टीका वरिष्ठ नेता वामदेव गौतमले सिद्धान्त र व्यवहार फरक हुँदा वामपन्थी शक्तिभित्र समस्या सिर्जना हुने गरेको टिप्पणी गर्दै तत्काल समाजवादी कार्यक्रम लागू गर्नुपर्ने बताउनुभयो ।
“यो पार्टी सबैभन्दा ठूलो संरचना बोकेर तथा बलिदान गरेर आएको पार्टी हो, यो पार्टीले नै समाजवादी कार्यक्रम अघि बढाउन सक्छ”, उहाँले भन्नुभयो । सो पार्टीका नेता नारायणकाजी श्रेष्ठले नेपाली विशेषता सहितको वैज्ञानिक समाजवादको लक्ष्य पूरा गर्न नेकपा दृढतापूर्वक अघि बढ्ने बताउनुभयो । पार्टी नेतृ पम्फा भुसालले एकीकृत पार्टी नेपालको वामपन्थी आन्दोलनको मूल धारा रहेको उल्लेख गर्दै नयाँ पार्टीले समाजवादी क्रान्तिको कार्यभार पूरा गर्ने विश्वास व्यक्त गर्नुभयो ।
