डरायो भने जनता र इतिहासले कांग्रेसलाई दुत्कार्ने गगनको चेतावनी

काठमाडौं ।  नेपाली कांग्रेसका महामन्त्री गगन थापाले चुनावअघि महाधिवेशन गर्नुपर्ने बताएका छन्। दुई महामन्त्री उम्मेदवार बन्न पाउँदैनौं भन्ने हो भने पनि आफूहरूले स्वीकार गर्ने तर चुनावअघि महाधिवेशन गरेर जानुपर्ने महामन्त्री थापाको भनाइ छ। महामन्त्री थापाले आज बसेको केन्द्रीय समिति बैठकमा पुस १६ गतेदेखि १९ गतेसम्म १५ औं महाधिवेशन गर्ने प्रस्ताव पेस गरेका छन्।

महामन्त्री थापाले भने, ‘हामी दुई महामन्त्रीको बुझाइ हो- महाधिवेशन नगरी जाँदा पार्टीलाई प्रश्नै प्रश्नले घेर्छ, हामी उत्तर लिएर निर्वाचनमा जानैपर्छ, यसका लागि महाधिवेशन अपरिहार्य छ। यदि दुई महामन्त्री नलड्ने भन्दा तयार हो भने महाधिवेशन गरौं, तपाईहरू मध्ये कोही जिम्मेवारी लिएर जानुहोस्। हामी त तयार छौं, के तपाईंहरू तयार हो? तर, अब ढिलो गर्ने बेला होइन, निर्णय गर्ने बेला हो।’

उनले अहिले हिम्मत देखायो भने कांग्रेस फेरि जनताको विश्वास जित्न सक्नेतर्फ जोड दिँदै यदि डरायो भने इतिहासले दुत्कार्ने पनि बताए। यसैबीच  बैठकमा संस्थापन पक्षधरबाट पनि अर्को मिति प्रस्ताव भएको छ । सहमहामन्त्री महेन्द्र यादवले २०८३ साल वैशाख २७, २८ र २९ गतेसम्म गर्नेगरि महाधिवेशनको कार्यतालिका पेश गरेका हुन् ।

पार्टीको हितका लागि नियमित महाधिवेशन अपरिहार्य : डा. शेखर

यसैगरी कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीको हितका लागि नियमित महाधिवेशन अपरिहार्य रहेको बताएका छन्। उनले विशेष अधिवेशनको हतारोले पार्टीमा सुधारभन्दा अस्थिरता निम्त्याउने बताएका छन्।

डा. कोइरालाका अनुसार महाधिवेशन केवल सभापति फेर्ने मेला होइन, यो पार्टीको आत्मा हो—नेतृत्व र सोच फेर्ने प्रक्रिया हो। उनले लोकतन्त्रको सम्मानका लागि विधानअनुसारको नियमितता आवश्यक रहेको उल्लेख गर्दै नयाँ पुस्ता, विशेष गरी जेन-ज़ेडलाई पार्टीमा जोड्ने सर्वोत्तम माध्यम नियमित महाधिवेशन नै भएको बताए।

उनका भनाइमा, विशेष अधिवेशनले पात्र मात्र बदल्छ, सोच र प्रणाली होइन। “शर्टकट” बाट क्षणिक लाभ भए पनि संगठनमा दीर्घकालीन नकारात्मक असर पर्ने उनको भनाइ छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर