विशेष महाधिवेशनको नेतृत्व लिन डा. शेखरलाई आग्रह

काठमाडौं । नेपाली कांग्रेसको एक समूहले नेता डा. शेखर कोइरालासँग विशेष महाधिवेशनको नेतृत्व लिएर वातावरण बनाउन आग्रह गरेको छ।

विशालनगरस्थित कोइरालाको सम्पर्क कार्यालयमा सोमबार बिहान पुगेको प्रतिनिधिमण्डलले कोइरालासँग भेट गरी पार्टीभित्र विशेष महाधिवेशन आवश्यक भएको बताउँदै त्यसको वातावरण निर्माणमा अग्रसर हुन अनुरोध गरेको हो। भेटमा सहभागी नेता मनोजमणि आचार्यका अनुसार ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षर संकलन गरी केन्द्रीय कार्यसमिति बैठकमा पेस गर्ने प्रयास सफल नहुनुको कारणबारे पनि उनीहरूले गुनासो गरेका थिए।

‘हामीले उहाँलाई भन्यौं- तपाईंलाई मतदान गर्ने प्रतिनिधिहरूले समेत हस्ताक्षर गरेका छन् तर त्यो विषय किन बैठकमा प्रवेश गर्न सकेन? अब तपाईंले नै नेतृत्व गरेर विशेष महाधिवेशनको वातावरण बनाउनुपर्छ,’ आचार्यले भने। उनका अनुसार डा. कोइरालाले मंसिरभित्रै नियमित महाधिवेशन वा आवश्यक परे विशेष महाधिवेशनबारे आफूले समन्वय गरिरहेको बताए। ‘म पार्टीलाई एक बनाउन चाहन्छु। विशेष महाधिवेशनका माध्यमबाट नियमित महाधिवेशनतर्फ लैजाने वा दुवै विषयलाई एउटै प्रस्तावमा समेट्ने प्रयासमा छु’, कोइरालाको भनाइ उद्धृत गर्दै आचार्यले भने।

नेता गुरुराज घिमिरेले पनि भने, ‘हामीले कार्यवाहक सभापति र शेखर दाइ दुवैसँग छलफल गर्ने योजना बनाएका थियौं, त्यसअनुसार भेट भएको हो ।’ उनका अनुसार भेटमा डा. कोइरालाले मंसिरभित्रै नियमित महाधिवेशन सम्पन्न गर्नुपर्ने, त्यस सम्भव नभए केन्द्रीय कार्यसमितिले आफैँ विशेष महाधिवेशन बोलाउनुपर्ने धारणा व्यक्त गरेका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर