गगन थापाको पीडा : ह्यारेसमेन्ट हुन थालेपछि सार्वजनिक कार्यक्रमबाट अलप
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सार्वजनिक कार्यक्रममा सरीक नहुने बताएका छन् । आज सोमबार उनले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै सार्वजनिक कार्यक्रममा आफूलाई सरीक हुन आएको निम्तोलाई स-सम्मान स्वीकार गर्दै निम्तो दिनेलाई धन्यवादज्ञापन गरेका छन् ।
‘यो वर्ष दशैं, तिहार र नेपाल सम्वत् जस्तै छठका सार्वजनिक कार्यक्रमहरूमा सहभागी हुन नसक्ने भएकाले क्षमा चाहन्छु,’ फेसबुकममा उनले लेखेका छन्, ‘मलाई निम्तो गर्नु भएका काठमाडौं र मधेशका सबै छठ आयोजक मित्रहरूलाई हार्दिक आभार प्रकट गर्दछु।’
महामन्त्री थापाले सार्वजनिक कार्यक्रममा सरीक नहुने बताउनुको पछाडि अर्कै कारण रहेको खुल्न आएको छ ।
पछिल्लो समय थापा रेष्टुरेन्ट लगायतमा भेटघाटका लागि जाँदा समेत युवाहरू जम्मा हुने,घेर्ने र ह्यारेसमेन्ट गर्ने घटना भएपछि उनी सार्वजनिक कार्यक्रममा सहभागी हुन छाडेका हुन्।
सुरक्षा निकायले समेत उनलाई सुरक्षाको जोखिम हुनसक्ने भन्ने बढि भीड हुने ठाउँमा नजान सुझाव दिएको खुलेको छ। सार्वजनिक स्थलमा जाँदा आफूमाथि कसरी ह्यारेसमेन्ट भयो भन्नेबारे उनले केही दिन अगाडि प्रधानमन्त्री सुशीला कार्कीले राखेको दलका नेताहरूसँगको बैठकमा खुलाएका थिए।
प्रधानमन्त्री कार्की र गृहमन्त्री ओमप्रकाश अर्यालले चुनावका लागि सुरक्षा व्यवस्थामा सुधार भएको दाबी गरेपछि त्यही दिन एक रेष्टुरेन्टमा पार्टी साथीहरूसँग भेट्न जाँदा भएको घटना सुनाएका थिए।
बैठकमा उनले भनेका थिए :-
म पार्टीकै साथीहरूसँग छलफलका लागि काठमाडौंको एक रेष्टुरेन्टमा गएको थिएँ। म पुग्दा त्यहाँ केही युवा थिए। मलाई देखेपछि गगन थापा भनेर कानेखुसी गर्न थाले। म थाहा नपाए झैँ गरेर भित्र गएँ।
साथीहरूसँगको छलफल सकिएपछि बाहिर आउँदा हुल जम्मा भइसकेको रहेछ। उनीहरूले मलाई घेरेर ह्यारेसमेन्ट गर्न थाले। धन्न म सँग पार्टीका साथीहरू हुनुहुन्थ्यो। उहाँहरू भएकाले अन्य घटना घटेन।
काठमाडौंको अवस्था यस्तो छ। प्रहरी कार्यालय फर्कन सकेका छैनन्। दलका नेता सार्वजनिक कार्यक्रम त के आफ्नो घर जानसक्ने अवस्थामा छैनन्। यस्तो सुरक्षा अवस्थामा सरकारले चुनाव हुन्छ भनेर कसरी विश्वास गर्न सकिन्छ?
