महरामाथिको कारवाही बेइमानी र षड्यन्त्रको सुरुआत : प्रचण्ड
काठमाडौं । नेकपा माओवादी केन्द्र महाधिवेशन आयोजक समितिका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मुलुकको अहिलेको परिस्थिति असाधारण र जटिल रहेको बताएका छन् ।
नेपाल संवत् ११४६ को उपलक्ष्यमा आज आइतबार माओवादी केन्द्र ललितपुर महानगरपालिका समितिले आयोजना गरेको कार्यक्रममा उनले भने, “गत भदौ २३ गते जेनजीले बेथिति, भ्रष्टाचार र कुशासनको विरुद्धमा आन्दोलित भएर राजनीति र देशप्रतिको मायाका साथै सुधारका लागि शक्ति प्रदर्शन गरेको हो । तर, भदौ २४ गतेको आन्दोलनले देशमा कति खतरनाक ढंगले गलत प्रवृत्तिको विकास हुँदै छ भन्ने पनि शिक्षा दिएको छ, यो हामीले बुझ्नुपर्छ । त्यसपछि हामी सबैले मुलुकमा राज्यविहीनताको अवस्थालाई अन्त्य गर्न भूमिका निर्वाह गर्यौँ ।”
“परिवर्तित परिस्थितिमा पनि रूपान्तरण हुने पार्टी माओवादी हो । जेनजी युवासँग पनि निरन्तर संवाद र छलफल भइरहेको छ । संविधान संशोधन गरेर, उनीहरूले बुझ्नुपर्छ, क्रान्तिकारीहरूले दुष्मन र मित्र चिन्नुपर्छ, यो कुरा नवयुवाहरूले बुझ्नुपर्छ”, उनले भने ।
“लेनिनले भनेको जस्तो क्रान्तिकारी पार्टीले र नेताले मात्र गल्ती स्वीकार गर्छन्, बुर्जुवा र प्रतिक्रान्तिहरूले गल्ती स्वीकार गर्दैनन् । जनताको नेतृत्व गर्ने पार्टीका रूपमा हामी फेरि रूपान्तरण हुनुपर्नेछ, भ्रष्टाचारीको संरक्षण गर्नेहरू र क्रान्तिकारीहरू एकै हैनन्”, उनले भने ।
उनले प्रतिक्रियावादी र प्रतिक्रान्तिवादीले पूर्वसभामुख कृष्णबहादुर महरालाई गलत सन्देश, बेइमानी र षड्यन्त्रको सुरुआत गरेको आरोप लगाए ।
