पाकिस्तानी हवाई आक्रमणमा तीन अफगानी क्रिकेट खेलाडीको मृत्यु
काठमाडौं । पाकिस्तानी हवाई आक्रमणबाट तीन अफगानी क्रिकेट खेलाडीको मृत्यु भएको छ । खेलाडीको मृत्यु भएको घटनाप्रति अफगानिस्तान क्रिकेट बोर्ड (एसीबी) ले गहिरो दुःख व्यक्त गर्दै पाकिस्तानसहितको आगामी त्रिदेशीय टी—२० आई क्रिकेट श्रृंखलामा आफ्नो देशले सहभागिता नजनाउने घोषणा गरेको छ ।
एक्समा विज्ञप्ति जारी गर्दै एसीबीले भनेको छ- ‘पक्तिका प्रान्तको उरगुन जिल्लाका साहसी क्रिकेट खेलाडीहरूलाई पाकिस्तानी शासनले कायरतापूर्ण आक्रमण गरी निशाना बनाएको घटनाप्रति अफगानिस्तान क्रिकेट बोर्ड गहिरो शोक र दुःख व्यक्त गर्दछ ।
एसीबीका अनुसार उरगुन जिल्लामा भएको उक्त हवाई आक्रमणमा खेलाडी कबीर, सिबगातुल्लाह र हारुनसहित आठ जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् ।’
तीनै खेलाडी पक्तिका प्रान्तको राजधानी शरानामा भएको मैत्रीपूर्ण क्रिकेट खेलमा सहभागी हुन गएका थिए । खेल सकेर घर फर्किएपछि उनीहरू स्थानीय जमघटमा सहभागी भइरहेका बेला हवाई आक्रमणको निशाना बनेका थिए ।
