महावीर पुनको महेश बस्नेतलाई जवाफ : “धेरै चुरीफुरी र घमण्ड नगर”

काठमाडौं ।  शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतलाई तथ्य नबुझिकन नबोल्न सुझाव दिएका छन्।

बस्नेतले गाडी चाहिँदैन, क्वार्टर चाहिँदैन भन्ने मन्त्रीहरूसँग पहिले नै त्यस्तो सुविधा हुनुपर्छ भनेर टिप्पणी गरेको भिडिओ सामाजिक सञ्जालमा सेयर गर्दै मन्त्री पुनले आफ्नो त्यस्तो घर र गार्ड देखाउन चुनौती दिएका हुन्।

भिडिओमा बस्नेतले भनेका छन्, ‘मलाई गाडी चाहिँदैन, मलाई क्वार्टर चाहिँदैन, के भन्या यो? यसको मतलब तपाईंहरूसँग मन्त्रीको जत्तिकै बस्न सक्ने घर रै’छ, मन्त्रीको जत्तिकै दुईतीन्टा गाडी रै’छ। मन्त्रीको जत्तिकै सुविधा सम्पन्न तपाईंहरूको वरिपरि सुरक्षाकर्मीहरू रै’छन्। कहाँबाट आयो यो?’

जवाफमा पुनले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘महेश भाइ, मलाई क्वार्टर चाहिँदैन, मलाई गार्ड चाहिँदैन भन्ने मै हुँ। म केशर शमशेरको दरबारमा बसेको छु, जहाँ मन्त्रालय छ। धेरै चुरीफुरी र घमण्ड नगर। मेरो घर र मेरो गार्ड कहाँ छ, देखाऊ। तथ्य नबुझीकन धेरै हावा कुरा नगर। म कस्तो मान्छे हुँ भन्ने कुरा तिमीलाई थाहा नै नभएजस्तो नगर है त। तीनचारपटक त भेटेर कुरा पनि भएको थियो त यार। तिम्रो फोन नम्बर मसँगै छ त अहिलेसम्म। खाल्डोमा जाने काम पटक्कै नगर। तिमी अझै पनि धेरै वर्ष बाँच्ने उमेर छ।’

महावीर पुनको लेखाइ यस्तो छ,

(“महेश भाई , मलाई क्वाटर चाहिदैन, मलाई गार्ड चाहिँदैन भन्ने मै हूँ। म केशर शम्सेरको दरवारमा बसेको छु जहा मन्त्रालय छ। धेरै चुरीफुरी र घमण्ड नगर। मेरो घर र मेरो गार्ड कहाँ छ देखाउ । तथ्य नबुझीकन धेरै हावा कुरा नगर। म कस्तो मान्छे हुँ भन्ने कुरा तिमीलाई थाहा नै नभए जस्तो नगर है त। तीन चार पटक त भेटेर कुरा पनि भएको थियो त यार । तिम्रो फोन नम्बर म संगै छ त अहिले सम्म । खाल्डोमा जाने काम पटक्कै नगर। तिमी अझै पनि धेरै बर्ष बाँच्ने उमेर छ – महावीर पुन”)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर