अब निर्वाचनबाहेक अर्को उत्तम विकल्प छैन : प्रचण्ड
काठमाडौं । नेकपा माओवादी केन्द्रको महाधिवेशन आयोजक समितिका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भदौ २३ गते काठमाडौंमा भएको आन्दोलनका क्रममा देखिएको गम्भीर सुरक्षा लापरबाही घटनाको मुख्य कारण भएको बताएका छन् ।
चितवनको भरतपुरमा आज बिहीबार आयोजित नेता–कार्यकर्तासँगको भेटघाटमा उनले भने, “युवाहरूको आन्दोलन विशुद्ध शान्तिपूर्ण थियो । तर, सरकारले सुरक्षा संयन्त्रको तयारी नगरेको र संवेदनशीलतापूर्वक व्यवहार नगरेकाले स्थिति हिंसात्मक बन्यो । गोली हानिँदा कलेज ड्रेसमा रहेका युवाहरूको टाउको र छातीमा लक्षित गरिनु अन्तर्राष्ट्रिय रूपमा नै लज्जास्पद बन्यो ।”
घटनापछि आफू भदौ २३ गते राति नै काठमाडौं फर्केर पार्टीको आकस्मिक बैठक बसेको उनले बताए । सबैभन्दा पहिले माओवादी केन्द्रले आन्दोलनका मृतकलाई सहिद घोषणा, उच्चस्तरीय छानबिन गठन र प्रधानमन्त्रीको राजीनामाको माग गर्दै आधिकारिक निर्णय सार्वजनिक गरिएको उनले उल्लेख गरे ।
“हामीले आन्दोलनलाई वैधानिकता दियौँ, प्रतिपक्षी दलहरूलाई एउटै धारणा बनाउन आग्रह गरियो र प्रत्यक्ष समन्वय गरेर देशलाई शान्तिपूर्ण समाधानतर्फ डोर्याउन पहल गरियो”, उनले भने । भदौ २४ गते सिंहदरबारमा प्रतिपक्षी दलको बैठक सकाएर बाहिरिने क्रममा सुरक्षाको जोखिम बढेको उनले बताए । त्यसपछि आफू स्वयंको पहलमा सुरक्षा खोज्दै नेपाली सेनाको समन्वयमा सिंहदरबारभित्र सुरक्षित रहनुपरेको उनले स्पष्ट पारे ।
“हामीलाई कसैले लिएको होइन, हामीले परिस्थिति मूल्यांकन गरेर सुरक्षा संयन्त्रको सहायतामा सुरक्षित स्थानमा गयौँ”, उनले भने । प्रचण्डले देशको वर्तमान राजनीतिक अवस्थाले अब निर्वाचनबाहेक अर्को उत्तम विकल्प नदिएको टिप्पणी गरे । सबै दल निर्वाचनतर्फ उन्मुख हुनुपर्नेमा उनले जोड दिए ।
उनले भने, “राष्ट्रपति, प्रधानमन्त्री, प्रमुख दलहरू, अन्तर्राष्ट्रिय समुदाय, सबैले निर्वाचन नै अबको प्राथमिकता हो भन्ने निष्कर्षमा पुगेका छन् । जनताले पनि परिवर्तनको मार्ग निर्वाचनमार्फत रोज्नेछन् ।”
