पुटिनको विचारमा नोबेल शान्ति पुरस्कारको विश्वसनीयता हरायो
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प नोबेल शान्ति पुरस्कार २०२५ बाट वञ्चित भएपछि रुसका राष्ट्रपति भ्लादिमिर पुटिन ले तीव्र प्रतिक्रिया जनाएका छन्। उनले भनेका छन्, “ट्रम्पले दशकौँदेखिका जटिल संकट समाधान गरेका छन्, तर पुरस्कार पाउनेले संसारका लागि खासै केही गरेका छैनन्। यो पुरस्कारको विश्वसनीयता हरायो।”
पुटिनको उक्त अभिव्यक्तिपछि ट्रम्पले सामाजिक सञ्जालमार्फत उनलाई धन्यवाद दिंदै लेखे , “राष्ट्रपति पुटिनलाई धन्यवाद, जसले मेरो शान्ति प्रयत्नको कदर गर्नुभयो।”
यस वर्षको नोबेल शान्ति पुरस्कार भेनेजुएलाकी विपक्षी नेतृ मारिया कोरिना माचाडो लाई प्रदान गरिएको छ।
यससँगै पछिल्ला केही महिनादेखि ट्रम्प पुरस्कारका बलिया दाबेदार हुने चर्चा अन्त्य भएको छ।
ट्रम्पले अघिल्ला महिनाहरूमा बारम्बार दाबी गर्दै आएका थिए कि उनले ‘सातवटा युद्ध रोक्न मद्दत गरेको” कारण नोबेल शान्ति पुरस्कार पाउनुपर्ने थियो। तर अन्ततः उनले सम्मान गुमाए।
नोबेल समितिका अध्यक्ष जर्गेन वाट्ने फ्राइडनेस लाई जब पत्रकारहरूले सोधे — “ट्रम्पलाई किन विचार गरिएन?” — उनले जवाफ दिए, “हामी बस्ने कोठा ती सबै नोबेल विजेताका चित्रले भरिएको छ, र त्यो कोठा साहस र इमानदारीले भरिएको छ।”
ह्वाइट हाउसको प्रतिक्रिया
नोबेल समितिको निर्णयप्रति ह्वाइट हाउसले तीव्र असन्तुष्टि जनाउँदै भनेको छ, “यो समितिले शान्तिभन्दा पनि राजनीति रोज्यो। ”राष्ट्रपति ट्रम्प “शान्ति सम्झौता गर्ने, युद्ध रोक्ने र जीवन बचाउने काममा” केन्द्रित रहिरहने उल्लेख गर्दै ह्वाइट हाउसले विज्ञप्ति जारी गरेको छ।
