ट्रम्पद्वारा रुस र युक्रेनबीच ऊर्जा आक्रमण रोक्ने युद्धविरामको घोषणा
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र युक्रेनबीच तत्काल लागू हुने गरी ऊर्जा पूर्वाधारमा आक्रमण रोक्ने युद्धविराम भएको घोषणा गरेका छन्। तर युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सम्झौताका विस्तृत विवरण आफूहरूले अझै प्राप्त गर्न बाँकी रहेको बताएका छन्।
आइतबार ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा रुस र युक्रेन ऊर्जा युद्धविरामका लागि सहमत भएको उल्लेख गरेका हुन्। ‘तत्काल लागू हुने गरी रुस र युक्रेनबीचको युद्धमा ऊर्जा युद्धविराम भएको छ। दुवै पक्ष सहमत भएका छन्। यसलाई नतोड्नुहोला,’ उनले लेखेका छन्।तर रुसले ट्रम्पको घोषणाबारे औपचारिक प्रतिक्रिया नदिएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले लेखेको छ।
‘युक्रेन युद्धविरामको समर्थन गर्छ। रुसले पनि यसलाई समर्थन गर्नु महत्त्वपूर्ण छ। हामी अमेरिकी पक्षबाट विवरणको प्रतीक्षामा छौं,’ उनले टेलिग्राममा लेखेका छन्। यद्यपि ट्रम्पको घोषणापछि पनि रुसी सेनाले युक्रेनको ऊर्जा पूर्वाधारमा आक्रमण जारी राखेको जेलेन्स्कीले बताएका छन्।
उनका अनुसार युक्रेनको दोस्रो ठूलो सहर खार्किभस्थित ताप तथा विद्युत् उत्पादन गर्ने संयुक्त केन्द्रमा पनि रुसी आक्रमण भएको थियो। युक्रेनी अधिकारीले उक्त आक्रमण ट्रम्पको घोषणापछि भएको पुष्टि गरेका छन्।
