आणविक हतियारमाथि पूर्ण प्रतिबन्ध लगाउन आह्वान

काठमाडौं । चीनका राष्ट्रपति सी जिनपिङले आणविक हतियारमाथि पूर्ण प्रतिबन्ध लगाउँदै विश्वबाटै तिनको अन्त्य गर्नुपर्नेमा जोड दिएका छन्।

चीनको सरकारी समाचार एजेन्सी सिन्ह्वाका अनुसार ऐतिहासिक भनिएको त्रिपक्षीय शिखर सम्मेलनको उद्घाटन मन्तव्यमा सीले आणविक हतियारलाई पूर्ण रूपमा प्रतिबन्ध लगाएर नष्ट गर्नुपर्ने र आणविक हतियारमुक्त विश्व निर्माण गर्नुपर्नेमा जोड दिएका हुन्।

‘आणविक युद्ध जित्न सकिँदैन र यस्तो युद्ध लड्नु पनि हुँदैन। यसलाई रोक्न हरसम्भव प्रयास गर्नुपर्छ’, उनले भने। सीले अमेरिका, रुस र चीनजस्ता शक्तिशाली राष्ट्रहरूले संवेदनशील विषयमा एकअर्काको आधारभूत सीमा र राष्ट्रिय हितलाई चुनौती दिन नहुनेसमेत बताए।

तीनै देशका नेताहरूले एकअर्काको सार्वभौमिकता, भौगोलिक अखण्डता र मूल राष्ट्रिय हितको सम्मान गर्नुपर्नेमा उनको जोड थियो। यसअघि सीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई चीन–अमेरिका सम्बन्धमा गम्भीर अवरोध आउन नदिन ताइवानका विषयमा अमेरिकाले सही निर्णय लिनुपर्ने बताएका थिए।

यसैबीच रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले रुस, चीन र अमेरिकाबीच रचनात्मक सहकार्य हुन सके विश्वव्यापी स्थिरता थप बलियो बनाउन सकिने बताएका छन्। चीनको सेन्जेनमा आयोजित त्रिपक्षीय शिखर सम्मेलनको उद्घाटन मन्तव्यमा पुटिनले विश्व तथा क्षेत्रीय मुद्दाका साथै ऊर्जा सुरक्षाबारे तीनै देशका नेताहरूबीच छलफल हुनुपर्ने बताए।

रुसी सरकारी समाचार एजेन्सी तासका अनुसार पुटिनले अमेरिकी राष्ट्रपति ट्रम्पको पहलमा भएको आफ्नो यसअघिको भेटवार्तामा मुख्य रूपमा युक्रेन युद्धबारे छलफल भएको पनि उल्लेख गरे। ‘दोस्रो विश्वयुद्धमा विजयी राष्ट्र हुनुका साथै अन्तर्राष्ट्रिय शान्ति कायम राख्ने जिम्मेवारीले पनि रुस, अमेरिका र चीनलाई एक ठाउँमा जोडेको छ’, पुटिनले भने।

त्यस्तै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका, रुस र चीन विश्वका तीन ठूला राष्ट्र भएको उल्लेख गर्दै उनीहरूबीचको त्रिपक्षीय शिखर सम्मेलनलाई ऐतिहासिक घटनाका रूपमा व्याख्या गरेका छन्। उद्घाटन मन्तव्यका क्रममा ट्रम्पले यी तीनै देशसँग विश्वकै सबैभन्दा ठूलो आणविक हतियार भण्डार रहेको बताए।

‘हामी इतिहास रच्दैछौँ’, ट्रम्पले सम्मेलनलाई सम्बोधन गर्दै भने । अमेरिका, चीन र रुसका नेताहरूले उद्घाटन मन्तव्य दिएपछि बन्द कोठाभित्र छलफल सुरु गरेका छन्। अलजजिराकी संवाददाता क्याट्रिना यूका अनुसार सम्मेलनको औपचारिक कार्यसूची सार्वजनिक गरिएको छैन।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर