ट्रम्पद्वारा भान्सलाई इरान युद्धमा ध्यान नदिन निर्देशन
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उपराष्ट्रपति जे डी भान्सलाई इरान युद्धप्रतिको ध्यान हटाएर भ्रष्टाचार र अपराधविरुद्धको अभियानमा केन्द्रित हुन निर्देशन दिएका छन्। मध्यावधि निर्वाचनमा रिपब्लिकन पार्टीले पराजय बेहोरेपछि युद्धको आर्थिक तथा राजनीतिक प्रभावबारे आलोचना बढिरहेका बेला ट्रम्पको यस्तो निर्देशन आएको हो।
ट्रम्पले इरानसँग सम्झौता गर्न आवश्यक नरहेको दाबी गर्दै अमेरिकाले आफ्नो पैसा र होर्मुज जलघाँटीमाथि नियन्त्रण प्राप्त गरिसकेको बताएका छन्। तर आवश्यक परे इरानमाथि सैन्य आक्रमण पुनः सुरु गर्न आफू तयार रहेको उनले बताएका छन्।युद्ध अन्त्यका लागि वार्ताको नेतृत्व गरेका भान्सले निर्वाचनमा रिपब्लिकनहरूको पराजयको एउटा कारण इरान युद्ध भएको टिप्पणी गरेका थिए।
इरानका मुख्य वार्ताकार तथा संसद्का अध्यक्ष मोहम्मद बाघेर कालिबाफले अमेरिकाले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनमार्फत प्रत्यक्ष वार्ताका लागि पहल गरेको दाबी गरेका छन्। अमेरिकाले भने यसबारे प्रतिक्रिया दिएको छैन। होर्मुज जलघाँटी आसपास तेल ट्यांकरमाथि आक्रमणका घटना भइरहेका छन्।
