अमेरिकी रक्षामन्त्रीविरुद्धको महाभियोग प्रस्ताव अघि बढाउन रोक
काठमाडौं । अमेरिकी संसद्को तल्लो सदन प्रतिनिधिसभाले रक्षामन्त्री पीट हेगसेथलाई पदबाट हटाउन ल्याइएको महाभियोग प्रस्ताव अघि बढ्न रोकेको छ । इरानविरुद्ध संसद्को स्वीकृतिबिना युद्ध सञ्चालन गरेको आरोपमा रिपब्लिकन सांसदले नै प्रस्ताव ल्याएका थिए । मंगलबार भएको मतदानमा प्रस्तावको पक्षमा २०४ र विपक्षमा २११ मत परेको थियो ।
अधिकांश सांसदले प्रस्तावलाई रिपब्लिकन पार्टीको नियन्त्रणमा रहेको न्यायिक समितिमा पठाउने पक्षमा मतदान गरेपछि तत्कालका लागि महाभियोग प्रक्रिया रोकिएको हो । प्रस्ताव रोकिएपछि राष्ट्रपति डोनाल्ड ट्रम्पले खुसी व्यक्त गर्दै देशभक्त नेताको रक्षा गरिएको बताएका छन् ।
केन्टकीका रिपब्लिकन सांसद थोमस मेसीले सोमबार हेगसेथविरुद्ध आठवटा आरोपसहित महाभियोग प्रस्ताव दर्ता गरेका थिए । उनले संसद्को स्वीकृतिबिना इरानविरुद्ध ९० दिनभन्दा बढी समयसम्म युद्ध सञ्चालन गरेको आरोप लगाएका थिए ।
त्यस्तै, लागुऔषध तस्करीको आशंकामा रहेका डुङ्गामाथि अमेरिकी सेनाले गरेको आक्रमणका क्रममा कानुनी प्रक्रिया पूरा नगरी मानिसहरूको हत्या गराएको आरोपसमेत हेगसेथमाथि लगाइएको थियो ।
अमेरिकी संसदीय प्रक्रियाअनुसार, संसद्को कार्यकाल समाप्त भएपछि पनि महाभियोगसम्बन्धी प्रक्रिया अघि बढाउन सकिने व्यवस्था छ । आगामी जनवरीमा डेमोक्रेटिक पार्टीले दुवै सदनको नियन्त्रण लिएमा हेगसेथविरुद्ध पुन: महाभियोग प्रक्रिया अघि बढाउन सक्ने सम्भावना रहेको समाचारमा उल्लेख छ ।
