रुस–युक्रेन युद्ध अन्त्यका लागि अमेरिकी कूटनीतिक प्रयास तीव्र

काठमाडौं ।  रुस–युक्रेन युद्ध अन्त्य गर्ने उद्देश्यले अमेरिकाले कूटनीतिक प्रयास तीव्र बनाएको छ । अमेरिकी विशेष दूत जेरेड कुसनरले रुस र युरोपेली देशहरूबिच प्रत्यक्ष संवाद गराउने तथा रुस, युक्रेन र अमेरिकाबिच त्रिपक्षीय वार्ताको अर्को चरणको तयारी भइरहेको बताएका छन् ।

शनिबार सामाजिक सञ्जाल एक्समार्फत उनले अमेरिकी विशेष दूत स्टिभ विटकफसँग मिलेर रुस, युक्रेन र युरोपेली साझेदारहरूसँग निरन्तर छलफल भइरहेको जानकारी दिएका हुन् । उनका अनुसार पछिल्ला वार्तामा शान्ति स्थापनाका लागि केही नयाँ प्रस्तावसमेत अघि सारिएका छन् ।

कुसनरले स्थायी शान्तिका लागि युक्रेनलाई विश्वसनीय सुरक्षा प्रत्याभूति आवश्यक रहेको बताएका छन् । युद्धपछि पुनः सैन्य टकराब हुन नदिन व्यावहारिक सुरक्षा व्यवस्था र सैन्य समन्वयको आवश्यकता रहेको उनको भनाइ छ । उनले युरोपको सुरक्षाका लागि नेटोको भूमिका पनि महत्त्वपूर्ण रहने उल्लेख गरे ।

शान्ति वार्तामा युरोपेली सहभागिता बढाउने प्रयाससमेत भइरहेको छ । बेलायत, फ्रान्स, जर्मनी, इटाली र पोल्यान्डले आगामी वार्तामा आफ्ना प्रतिनिधि पठाउने भएका छन् । युद्धविराम भए युक्रेनको सुरक्षा सुनिश्चित गर्न प्रस्तावित ‘कोलिसन अफ द विलिङ’ अन्तर्गत सैनिक योगदान गर्ने इच्छासमेत यी देशले देखाएका छन् ।

यसअघि अबुधाबीमा रुस, युक्रेन र अमेरिकाबिच त्रिपक्षीय वार्ता भएको थियो । उक्त वार्ताले युद्ध अन्त्य गर्ने विषयमा ठोस सहमति जुटाउन नसके पनि युद्ध सुरु भएयताकै ठूलो बन्दी आदान प्रदानको तयारी भने अघि बढाएको थियो ।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युरोपेली देशहरूलाई शान्ति वार्तामा समान हैसियतसहित सहभागी गराउनुपर्ने बताएका छन् । युरोपको सुरक्षासम्बन्धी विषयमा युरोपेली देशहरूको सहभागिताबिना निर्णय गर्न नसकिने उनको भनाइ छ ।

तर रुसले सम्भावित शान्ति सम्झौतापछि युक्रेनमा विदेशी सैनिक तैनाथ गर्ने प्रस्तावको विरोध गरेको छ । राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनी भूमिमा कुनै पनि विदेशी सैनिकको उपस्थिति रुसका लागि स्वीकार्य नहुने स्पष्ट पारेका छन् ।

अमेरिकाको मध्यस्थतामा कूटनीतिक प्रयास अघि बढे पनि युक्रेनको क्षेत्रीय अखण्डता, युद्धपछिको सुरक्षा व्यवस्था र विदेशी सैनिकको तैनाथीजस्ता विषयमा रुस र युक्रेनबिच गम्भीर मतभेद कायम छन् । त्यसैले शान्ति वार्ताले ठोस परिणाम दिने विषय अझै अनिश्चित छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर