बंगलादेशका प्रधानमन्त्रीको कडा चेतावनी
काठमाडौं । बंगलादेशका प्रधानमन्त्री तारिक रहमानले पूर्वप्रधानमन्त्री शेख हसिना नेतृत्वको प्रतिबन्धित अवामी लिगले देशमा अस्थिरता सिर्जना गर्न षड्यन्त्र गरिरहेको आरोप लगाएका छन्।
भारतसँग सीमा जोडिएको उत्तर–पश्चिमी जिल्ला लालमोनिरहाटमा बिहीबार आयोजित जनसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री रहमानले अवामी लिगका समर्थकहरूले देशमा अशान्ति फैलाउन आगजनी र हत्याजस्ता गतिविधि गरिरहेको दाबी गरे। प्रतिबन्धित अवामी लिगले आह्वान गरेको एकदिने देशव्यापी आमहड्तालका क्रममा विभिन्न स्थानमा हिंसात्मक घटना भएपछि उनको यस्तो अभिव्यक्ति आएको हो।
स्थानीय सञ्चारमाध्यमका अनुसार हड्तालका क्रममा प्रतिबन्धित अवामी लिग र सत्तारूढ बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी) का कार्यकर्ताबीच भएको झडपमा कम्तीमा चार जनाको मृत्यु भएको छ। प्रदर्शनकारीहरूले पूर्वमुख्य अन्तरिम सल्लाहकार मोहम्मद युनुसको चट्टग्रामस्थित पैतृक घरमा समेत आगजनी गरेका छन्।
