मलेसियाले नेपाललाई तीन रनले हरायो
काठमाडौं । नेपाली महिला राष्ट्रिय क्रिकेट टोली मलेसियासँगको टी–२० अन्तर्राष्ट्रिय शृङ्खलाअन्तर्गत पहिलो खेलमा पराजित भएको छ । क्वाललम्पुरको वायुमास मैदानमा भएको खेलमा मलेसियाले नेपाललाई तीन रनले हराएको हो ।
मलेसियाले दिएको एक सय पाँच रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा सात विकेट गुमाएर एक सय एक रन मात्र बनाउन सक्यो । अन्तिम ओभरमा सात रन चाहिएको अवस्थामा कविता जोशी र राजमति ऐरी क्रिजमा रहेपनि तीन रन मात्र जोड्न सके । नेपालका लागि पूजा महतोले सर्वाधिक ३० रन बनाइन् । सम्झना खड्काले १८, कविता जोशीले अविजित १३ तथा कप्तान इन्दु बर्माले १२ रन बनाइन् । मलेसियाकी नुर दानिया स्यादाले चार ओभरमा १० रन मात्र दिएर तीन विकेट लिइन् ।
कप्तान विनिफ्रेड दुरासिंघम र आइसा एलिसाले २–२ विकेट लिए । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले २० ओभरमा ५ विकेट गुमाएर १०४ रन बनाएको थियो । मलेसियाका लागि कप्तान विनिफ्रेडले सर्वाधिक २७ रन बनाइन् । अइना हमिजाले २६ तथा मास एलिसाले २५ रन बनाइन् । नेपालकी सोमु विष्टले २ तथा रुबिना क्षेत्रीले १ विकेट लिए । शृंखलाको दोस्रो खेल शनिबार हुनेछ ।
