अरूलाई देश जिम्मा लगाएर हामी विदेश भाग्दैनौं : ओली

भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आर्थिक समृद्धिका लागि देशमा शान्ति, सुव्यवस्था कायम गर्नुपर्ने बताउनुभएको छ । युवा सङ्घ नेपालले आज भक्तपुरको गुण्डुमा आयोजना गरेको शुभकामना आदान–प्रदान कार्यक्रममा उहाँले शान्तिप्रिय नेपालीको परिचय बनाएका हामीले देशमा शान्ति, सुव्यवस्था कायम गरेर आफ्नो त्यो छवि कायम गर्नुपर्ने बताउनुभएको हो ।
भ्रष्टाचार नियन्त्रण, सुशासन प्रवर्धनलगायत जेनजीका मागप्रति समर्थन जनाउँदै उहाँले भन्नुभयो, “भदौ २३ र २४ मा जेनजीको नाममा भएको आन्दोलनमा उनीहरुलाई पाखा लगाएर घुसपैठ भयो । नयाँ पुस्ताले राष्ट्रिय झण्डा ओढेर सिंहदरबार आगो लगाएका होइनन् ।”
देश बनाउन राजनीतिक दलहरु एक ठाउँमा आउनुपर्ने भन्दै अध्यक्ष ओलीले त्यसको अगुवाई एमालेले गर्ने बताउनुभयो । बाहिर विभिन्न हल्ला भए पनि वास्तविकता त्यस्तो नभएको उहाँले बताउनुभयो । ‘ ‘हाहु’ गरेर बनेको सरकारलाई देश जिम्मा लगाएर हामी विदेश भाग्छौं ? अरूलाई देश जिम्मा लगाएर हामी भाग्दैनौं, यो देशलाई संवैधानिक, लोकतान्त्रिक मूलधारमा हामीले ल्याउँछौं, मुलुकमा शान्ति सुव्यवस्था गरी सुशासन देशमा ल्याउँछौं’ भन्दै अध्यक्ष ओलीले थप्नुभयो, ‘आफू नेतृत्वको सरकारले गरेको सबै काम रेकर्डेड छन् । सरकारले ती काम बाहिर ल्याओस् ।’