पाँच मिनेट ढिला भएको भए हामी मारिन्थ्यो : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गत भदौ २४ गतेको घटनाबारे एक सनसनीपूर्ण खुलासा गरेका छन् । भक्तपुरको गुण्डुस्थित आफ्नो डेरामा लोकतान्त्रिक आदिवासी जनजाति महासंघ नेपालका अध्यक्ष पासाङ शेर्पासहितको समूहसँगको भेटमा ओलीले आफूलाई मार्ने र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई घाइते बनाउने ‘योजना’ रहेको बताएका हुन् ।
अध्यक्ष ओलीका अनुसार, यदि उनी बालुवाटारबाट पाँच मिनेट मात्रै ढिला निस्केको भए, ‘मार्ने नै थिए ।’ उनले थपे, ‘शेरबहादुरजीलाई घाइते बनाउने र मलाई मार्ने खालकै योजना थियो ।’
ओलीले आफूले यस्तो ‘हठात् सत्ता नै पल्टाउने’ घटनाको तयारी गर्न समेत नपाएको बताए । ‘मैले आफ्नो तयारी पनि गर्न पाइनँ’, उनले भने । सुरक्षा संयन्त्रमाथि भरोसा भए पनि प्रदर्शन चर्किंदै गएपछि उनीहरूले केही गर्न नसक्ने बताएको ओलीको भनाइ छ । ‘सेक्युरिटीमाथि मलाई अलिकति भरोसा भयो, सेक्युरिटीले हामी केही पनि गर्न सक्दैनौं, केही पनि गर्दैनौं भन्यो’, उनले भने ।
अन्तिममा नेपाली सेनाले आफूलाई त्यहाँबाट ‘भगाइसम्म दिएको’ ओलीले उल्लेख गरे । गत भदौ २४ गते दिउँसो २ बजे राजीनामा दिएलगत्तै उनलाई नेपाली सेनाले हेलिकोप्टरमार्फत् उद्धार गरी शिवपुरी पुर्याएको थियो । ‘अन्तिममा सेनाले भगाइसम्म दियो । त्यहाँबाट निकाल्यो एकछिनमा । पाँच मिनेटभित्रमा हामी हिँड्यौं’, उनले स्मरण गरे ।
ओलीले यस्तो ‘परिघटना’ बाट विचलित नभई उच्च मनोबलका साथ अगाडि बढ्न कार्यकर्तालाई आग्रह गरे । ‘कमजोर मनोबल बनाएर यसका विरूद्ध हामीले केही पनि गर्न सक्दैनौं । यस षड्यन्त्रबाट देशलाई जोगाउनचाहिँ उच्च मनोबल गर्नैपर्छ’, उनले भने ।
उनले यो ‘देशै जलाउने खालको महाआपराधिक घटना’ भएको टिप्पणी गरे । ओलीले एमाले देशको नेतृत्वमा हुँदासम्म यस्ता घटना अब कुनै पनि हालतमा हुन नदिने प्रतिबद्धता व्यक्त गरे । ‘हामी एमाले हुँदाहुँदै अब कुनै पनि हालतमा हुन दिँदैनौं । एमाले हुँदाहुँदै सिंहदरबार जलाउने ?’, उनले प्रश्न गरे ।
उनले यसपटक एमालेको ‘कमजोरी’ भएको र देशका सम्पत्तिको रक्षा गर्न चुकेको स्वीकार गरे । ‘यसपल्ट हाम्रो अलिकति कमजोरी भयो । यो हदसम्म देशै जलाउँछन् भन्ने खालको त्यस्तो लाग्या थिएन’, उनले भने ।
ओलीले ‘देशद्रोही, अपराधी तत्वहरू’ विभिन्न ठाउँमा, पद र ओहोदामा पुगेको टिप्पणी गरे । ‘छद्म तत्वभित्र पसेका रहेछन् । तर वास्तवमा देशलाई माया नै नगर्ने तत्वहरू शेर पल्टेर बसेका रहेछन् यसपटक हामीले देख्यौं । त्यस्ता तत्व हामीले चिनेका छौं। त्यस्ता तत्वलाई विस्तारै नियन्त्रण गर्दै लगिनेछ,’ उनले चेतावनी दिए ।