साफ यु–१७ च्याम्पियनसिपबाट नेपाल बाहिरिए

काठमाडौं ।  साफ यु–१७ च्याम्पियनसिप फुटबल प्रतियोगितामा नेपाल भारतसँग पराजित हुँदै प्रतियोगिताको सेमिफाइनलबाटै बाहिरिएको छ । श्रीलङ्काको कोलम्बो रेसकोर्समा आज सम्पन्न दोस्रो सेमिफाइनल खेलमा साविक विजेता भारतसँग नेपाल ३–० गोलले पराजित हुँदै अन्तिम चारबाट बाहिरिएको हो । जितसँगै भारत भने साफ यु–१७ च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ ।

भारतका लागि गुनलेइबा वाङखेरियाक्पाम, अजलान शाह र डायमन्ड सिंह थोकचोमले समान एकरएक गोल गरे । सबै गोल दोस्रो हाफमा सम्भव भएका हुन् । गुनलेइबाले खेलको ६१औँ मिनेटमा गोल गरे भने अजलानले खेलको ८०औँ मिनेटमा गोल गरे । खेलको दोस्रो हाफको अतिरिक्त समयमा भारतका अर्का खेलाडी डायमन्डले एक गोल थपे ।

नेपाल समूह ए को उपविजेता तथा भारत समूह बी को विजेताका रुपमा सेमिफाइनल प्रवेश गरेको हो । नेपालले पहिलो खेलमा श्रीलङ्कालाई २–० ले पराजित गरेको थियो भने दोस्रो खेलमा बङ्गलादेशसँग ४–० ले पराजित भएको थियो । त्यसैगरी भारतले भने समूह चरणका तीनवटै खेल जितेको थियो । पहिलो खेलमा माल्दिभ्सलाई ६–० ले हराएको भारतले त्यसपछि भुटानलाई १–० र पाकिस्तानलाई ३–२ ले पराजित गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर