कोइराला निवास जलेकामा डा. शेखरद्वारा दुःख व्यक्त

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले तत्कालीन सरकार सुशासन र भ्रष्टाचारका विषयमा गम्भीर नहुँदा जेनजी प्रदर्शनमा ठूलो क्षति भएको बताएका छन् ।
आज विराटनगरस्थित शेखर कोइराला निवासमा सञ्चारकर्मीहरुसँगको भेटघाटमा उनले हालसम्म नेपाली कांग्रेसको नेतृत्व हस्तान्तरणको विषयमा कुनै छलफल नभएको बताए ।
नेता कोइरालाले जेनजी प्रदर्शनका क्रममा भएका क्षतिबारे छानबिन हुनुपर्नेमा जोड दिए । उनले राष्ट्रपति रामचन्द्र पौडेलले तत्कालीन समयमा चालेको कदम सही भएको उल्लेख गर्दै संविधानमा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको व्यवस्था नरहेको उल्लेख गरे ।
उनले लोकतन्त्र र प्रजातन्त्रको धरोहर विराटनगरस्थित कोइराला निवास जलेकामा दुःख व्यक्त गरे । भौतिक संरचना जले पनि नेपाली कांग्रेसको इतिहास नजलेको उनको जिकिर छ ।
उनले युवाको आन्दोलनभित्र पसेर हिंसा गराउनेको विस्तारै पर्दाफास हुने र उनीहरुलाई कानुनी कारवाहीको दायरामा ल्याउनुपर्ने बताए । डा. कोइरालाले आफ्नो जलेको निवासबाटै पुनः लोकतन्त्रको बिगुल फुक्ने प्रतिबद्धता जनाए। हालैको संसद विघटनको सन्दर्भमा बोल्दै डा. कोइरालाले यसलाई संविधानसम्मत नभएको तर, देशलाई थप क्षतिबाट जोगाउने विकल्पको रुपमा प्रयोग गरिएको स्पष्ट गरे ।
राष्ट्रपतिले संविधानलाई पूर्णरूपमा क्षतविक्षत हुनबाट जोगाउन सफल भएको उनले बताए। डा. कोइरालाले नेपाली कांग्रेसका सबै कार्यकर्तालाई २१ फागुनमा तोकिएको चुनावको तयारीमा जुट्न आह्वानसमेत गरे । संयमता र निडरताका साथ निर्वाचनमा होमिन आग्रह गर्दै उनले प्रदेश खारेज र प्रत्यक्ष निर्वाचित कार्यकारी जस्ता मागहरू अहिलेको संविधानले स्वीकार नगर्ने बताए ।