भारतले ओमानलाई हरायो

काठमाडौं । ओमानले एसीसी टी२० एसिया कपमा विश्व क्रिकेटको भारतलाई स्तब्ध पार्नबाट २१ रनले चुकेको छ । समूह ए को अन्तिम खेलमा ओमान भारतसँग पराजित भएपनि प्रदर्शन उत्कृष्ट गर्न सफल भएको हो ।
जित्नलाई १८९ रनको लक्ष्य पछ्याएको ओमानले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १६७ रन बनायो । ओमानका अनुभवी अलराउण्डर आमिर कलिमले ४६ बलमा ७ चौका र २ छक्कासहित सर्वाधिक ६४ रन बनाए । हमाद मिर्जाले ३३ बलमा ५ चौका र २ छक्कासहित ५३ रन बनाए।
दोस्रो विकेटलाई कलिम र मिर्जाले ९३ रनको साझेदारी गरेपछि ओमानलाई जित्नलाई अन्तिम १५ बलमा ४० रन चाहिँएको थियो। हर्षित रानाको बलमा हार्दिक पान्ड्याले उत्कृष्ट क्याच लिएपछि कलिम आउट भएका थिए। त्यसपछि भने ओमानले राम्रो ब्याटिङ गर्न सकेन।
ओमानलाई कप्तान जतिन्दर सिंह र अमिर कलीमले पहिलो विकेटलाई ८.३ ओभरमा ५६ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए। जतिन्दर कुलदीप यादवको बलमा बोल्ड आउट हुनुअघि ३३ बलमा ५ चौकासहित ३२ रन बनाए। त्यसपछि क्रिजमा आएका हमाद मिर्जा र कलिमले सानदार ब्याटिङ गर्दै एक समय जितको आशा दिलाएका थिए। दुबै ब्याटरले अर्धशतक प्रहार गरेपनि खेल अन्त्य गर्न भने सकेनन।
भारतका अर्शदीप सिंह, हर्षित राना, कुलदीप यादव र हार्दिक पाण्ड्याले समान १-१ विकेट लिए । त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको भारतले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ८८ रन बनाएको थियो । भारतका सन्जु स्यामसनले ४५ बलमा ३ चौका र छक्कासहित सर्वाधिक ५६ रन बनाए ।
ओपनर अभिषेक शर्मा १५ बलमा ५ चौका र २ छक्कासहित ३८, शुभमन गिल ५, हार्दिक पाण्ड्या १, अक्षर पटेल २६, शिबम दुबे ५, तिलक बर्मा २९ रन बनाए । भारतलाई विशाल योगफल बनाउनबाट रोक्न ओमानका फैसल शाहले ४ ओभरमा १ मेडनसहित २६ रन खर्चेर २ विकेट लिए । जितेन रमानान्दिले ४ ओभरमा ३३ रन खर्चेर २ विकेट लिए । अमिर कलिमले ४ ओभरमा ३१ रन खर्चेर २ विकेट लिए।