जेनजी आन्दोलनमा भएका गल्तीप्रति विष्णु पौडेलको क्षमायाचना

काठमाडौं ।  नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले जेनजी आन्दोलनका क्रममा भएका गल्तीप्रति व्यक्तिगत रूपमा माफी मागेका छन्। संविधान दिवसका अवसरमा आज असोज ३ गते पार्टी र पद उल्लेख नगरिएको वक्तव्य जारी गर्दै एमालेले गरेका निर्णय र कामले निम्त्याएका परिणामका लागि व्यक्तिगत रूपमा क्षमा याचना गरेका हुन्।

‘जनताको, विशेषगरी युवा पुस्ताको आकांक्षा, असन्तुष्टि र आक्रोशलाई बुझ्न र सम्बोधन गर्न नसक्नु र भ्रष्टाचार नियन्त्रण, सुशासन एवम् सेवा प्रवाहमा अपेक्षित सुधार हुन नसक्नु जेनजी आन्दोलनका मुख्य कारणहरू हुन्। तर आन्दोलनका क्रममा भएको हत्या, हिंसा, तोडफोड र आगजनी पनि त्यत्तिकै निन्दनीय छ’, पौडेलले वक्तव्यमा भनेका छन्, विगतमा नेकपा एमालेले लिएका निर्णय गरेका काम र तिनको परिणामका सम्बन्धमा गम्भीर समीक्षा हुने नै छ। व्यक्तिगत रूपमा आफ्नो तर्फबाट भएका गल्ती, कमजोरी र भूलहरूप्रति क्षमायाचना गर्दछु।’

यसैगरी उनले अब पार्टीको संगठन, कार्यशैली र आचरणमा परिवर्तन हुने अपेक्षा पनि गरेका छन्। निवर्तमान अर्थमन्त्री पौडेलले लेखेका छन्, ‘अब हाम्रोसामु जनतासँग विशेषगरी नयाँ पुस्तासंग एकाकार भएको, नीति निर्माण र नेतृत्व निर्माणमा युवाशक्तिको निर्णायक योगदान रहेको गतिशील र परिवर्तनको संवाहक शक्तिको भूमिकामा पार्टीलाई स्थापित गर्ने जिम्मेवारी आएको छ। तदनुरूप पार्टीको संगठन, कार्यशैली र आचरणमा परिवर्तन हुने विश्वास व्यक्त गर्दछु।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर