रेशम चौधरीले नागरिक उन्मुक्ति पार्टी त्यागेको जानकारी

काठमाडौं ।  नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले सो पार्टीबाट आफू अलग भएको घोषणा गरेका छन् । व्यक्तिगत अहङ्कार र स्वैच्छालाई जित्न नसकेको भन्दै उनले नागरिक उन्मुक्ति पार्टीबाट आज अलग भएको घोषणा सामाजिक सञ्जालमार्फत गरेका हुन् ।

“मैले नागरिक उन्मुक्ति पार्टीको गीत, विधान लेखेँ । मैले नै नागरिक उन्मुक्ति पार्टीको विचार स्थापना गरेको हो”, चौधरीले भने, “तर व्यक्तिगत अहङ्कार र स्वैच्छालाई जित्न सकेन ।”

पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ र नेता दामोदर पण्डितसँग आफ्नो कुनै पनि दुश्मनी नरहेको जिकिर गर्दै उनले पार्टीमा रहेका फटाहाहरूको कारण व्यक्तिगत रूपमा अल्मलिनुभन्दा बाटो बदलेको बताए । नागरिक उन्मुक्ति पार्टीभित्र पछिल्ला दिनमा भएको आन्तरिक विवादलाई आफूले सम्झन पनि नचाहेको उनले उल्लेख गरे । चौधरीले भने, “बरू म जेलमा हुँदा दुई घण्टा भए पनि निदाए तर, बाहिर सकिनँ । कयौं रात अनिदो बितेका छन् ।”

आफू राजनीतिक व्यक्ति रहेका कारण पार्टीविना बस्न नसुहाउने भन्दै उनले आजको दिनबाट नयाँ दल र सङ्गठन निर्माणमा जुट्ने बताए । चौधरीले नागरिक उन्मुक्ति पार्टी नेपाल बनाउने र त्यसको चुनाव चिह्न पहिचानकै रहने उल्लेख गरे । आफूलाई राजनीति गर्ने अधिकार रहेको भन्दै उनले आफ्नो आन्दोलन र भावनालाई बुझ्नेहरू आफूसँगै रहने बताए । उनले भने, “मलाई ठग होइन, मेरो पार्टी र पहिचानको आन्दोलन बुझ्ने कार्यकर्ता चाहिएको छ ।”

टीकापुर घटनामा दोषी ठहर भई रेशम जेलमा रहेको बेला २०७८ मा नागरिक उन्मुक्ति पार्टी गठन भएको थियो । स्थापनाको छोटो समयमै प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहको निर्वाचनमा नागरिक उन्मुक्ति पार्टीले जित हासिल गरेको थियो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर