ओलीलाई अध्यक्ष बन्ने बाटो खोल्दै एमालेको विधान अधिवेशन अन्त्य

काठमाडौं ।  केपी शर्मा ओलीलाई तेस्रोपटक अध्यक्ष बन्ने बाटो खोल्दै नेकपा एमालेको दोस्रो विधान महाधिवेशन काठमाडौंमा हिजो आइतबार समापन भएको छ ।

पार्टी विधानको धारा–६४ मा ७० वर्षे उमेर हद र दुई कार्यकाल बढी एउटै पदमा रहन नपाउने व्यवस्था थियो । ७४ वर्षका ओलीलाई तेस्रोपटक अध्यक्ष बन्न यो धाराले रोक्ने थियो । हिजोको विधान महाधिवेशनले उक्त धारामा संशोधन गरेलगत्तै ओलीका लागि अध्यक्ष पदमा प्रतिस्पर्धा गर्न मार्ग प्रशस्त पारिएको छ । उत्तः धारा नै खारेज गर्ने उपाध्यक्ष विष्णुप्रसाद पौडेलको प्रस्ताव सर्वसहमतिले पारित भएको छ । विधान संशोधन प्रस्तावमा एक जनाको पनि हलमा विमति रहेन ।

‘पार्टीको सही नीति, सक्षम र भरोसायोग्य नेतृत्वका साथ अगाडि बढिरहेको छ । पार्टीका नीतिलाई राष्ट्रका नीतिमा अनुदित गर्न र मिसन–२०८४ मा अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा बहुमतको सरकार गठन गर्नु आवश्यक रहेको हुँदा सोही उत्साह र आत्मविश्वासका साथ फर्कनुहोस्’, प्रतिनिधिहरूसँग पौडेलले आग्रह गरेका थिए ।

पार्टीभित्र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू युवराज ज्ञवाली र सुरेन्द्र पाण्डे, सचिवहरू गोकर्ण बिष्ट र योगेश भट्टराई लगायत नेताहरूले विधानको यो व्यवस्था हटाउन नहुने अडान लिएका थिए ।

धेरैले चासोका साथ हेरेको विद्या भण्डारीको सदस्यता नवीकरणबारे विधान महाधिवेशनमा कुनै निर्णय भएन । ओलीले भण्डारीको सदस्यता नवीकरण विषयमा समापन भाषणमा भने, ‘उहाँ स्थायी कमिटी बन्न आउने होइन । पोलिटब्यूरो बन्न आउने होइन । अध्यक्ष बन्न आउने र त्यो नमिल्ने भएकाले मैले उहाँलाई स्पष्ट भनेको छु,’ ओलीले भने, ‘उहाँको सदस्यता खोसेको होइन, नवीकरण नभएको हो । उहाँको सदस्यता भुलचुकले नवीकरण भएको हो, त्यो खारेज भयो ।’
एकातिर समापन भाषणमा ओलीले भण्डारीको सदस्यतालाई लिएर कडा आपत्ति देखाए भने भित्र भित्र ओलीले विद्याको सदस्यताबारे केन्द्रीय कमिटिीमा छलफल गर्ने आश्वासन दिएकाले विधान अधिवेशनमा बढी चर्काचर्की नभएको भण्डारी पक्षका नेताहरूको बुझाइ रहेको छ । उनीहरू ओली पक्षीयले भण्डारीको सदस्यता विधानमै व्यवस्था गरेर सदनका लागि बन्देज लगाउने प्रयासलाई रोक्न सफल भएको दाबी गर्छन् ।

‘विधान महाधिवेशन हलबाटै पूर्वराष्ट्रपतिलाई रोक्ने भन्ने निर्णय भएको थियो भने त्यो सच्याउन अर्को महाधिवेशन आवश्यक पर्थ्यो,’ भण्डारी पक्षका एक नेता भन्छन्, ‘तर त्यो खतरा टर्‍यो ।’ ‘विधान महाधिवेशनको प्रस्तावमा विद्या भण्डारीको पार्टी सदस्यताबारे एजेण्डा छैन । केन्द्रीय कमिटीमा त्यसबारे कुरा गरौं भन्नुभएको छ’, भण्डारी निकट ती नेता भन्छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर