फेसबुक एमालेलाई छूट, अरूलाई ठण्डा !!

काठमाडौं । सरकारले बिहीबार राति १२ बजेदेखि सूचीकृत नभएका सामाजिक सञ्जाल बन्द गर्ने निर्णय कार्यान्वयनमा ल्याएसँगै सर्वसाधारणले फेसबुक, इन्स्टाग्रामलगायत प्लेटफर्म प्रयोग गर्न पाएका छैनन् ।
प्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीको सचिवालयद्वारा सञ्चालित ‘पीएम केपी ओली सेक्रेटेरियट’ नामको आधिकारिक फेसबुक पेज भने अवरोधबिना सञ्चालनमा रहेको पाइएको छ ।
शुक्रबार दिउँसो १ बजे उक्त पेजबाट ओलीले एमालेको दोस्रो विधान महाधिवेशन उद्घाटन गरेको तस्बिरसहितको पोस्ट सार्वजनिक गरिएको थियो । सो तस्बिरपछि ‘बालकोट’ नामको अर्को पेजले पनि त्यसलाई शेयर गरेको थियो ।
‘नेकपा (एमाले) को दोस्रो विधान महाधिवेशन ललितपुरको सनराइज सभा हलमा आजबाट सुरु भएको छ । पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नुभएको हो,’ सचिवालयको स्टाटसमा भनिएको छ ।