विद्या भण्डारीको रवि लामिछानेप्रति सदभाव : रास्वपा
काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूलाई सक्रिय राजनीतिमा फर्कनबाट रोक्न खोजेको आरोप लगाएकी छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रवक्ता मनिष झासँगको भेटमा भण्डारीले पहिले राजनीतिमा आउन बाटो खुला रहेको बताएका ओलीले अहिले आफ्नो बोली फेरेको गुनासो गरेकी हुन्।
बुधबार बिहान भण्डारी निवास भंगालमा भएको भेटवार्तापछि प्रवक्ता झाले सञ्चारकर्मीसँग कुरा गर्दै भण्डारीको भनाइ उद्धृत गरे, ‘म राजनीतिक रूपमा अगाडि बढिसकेँ, अब नफर्कने। अस्तिसम्म केपी ओलीले नै पूर्वराष्ट्रपति राजनीतिमा आउन मिल्छ भनेर अन्तर्वार्ता दिनुभएको छ। अहिले उहाँले आफैँ बोली फेरेर मलाई रोक्दै हुनुहुन्छ।’
रास्वपा प्रवक्ता झाले भेटवार्तापछि जारी गरेको औपचारिक प्रेस नोटमा भने यो विषय उल्लेख गरिएको छैन। प्रेस नोटमा भेटलाई ‘राजनीतिक शिष्टाचार’ र ‘राजनीतिक संवादको सुरुवात’ भनिएको छ।
‘आज बिहान उहाँको निवासमा १० बजेदेखि साढे ११ बजेसम्म लगभग डेढ घण्टाको कुराकानी छलफल भयो,’ प्रेस नोटमा भनिएको छ, ‘वर्तमान असाधारण राजनीतिक अवस्थाबारे उहाँको सरोकार र यसको समाधानको आवश्यक पहलबारे छलफल भयो।’
प्रेस नोटअनुसार, पूर्वराष्ट्रपति भण्डारीले सहकारी प्रकरणलाई समाधान गर्नुको साटो अनावश्यक राजनीतिक मुद्दा बनाएकोमा चिन्ता व्यक्त गर्दै गृहमन्त्री रवि लामिछानेप्रति सद्भाव रहेको बताएकी थिइन्।
