श्रीलङ्काका पूर्वराष्ट्रपति रनिल विक्रमसिङ्घे सरकारी कोष दुरुपयोग गरेको आरोपमा पक्राउ

काठमाडौं । श्रीलङ्काका पूर्वराष्ट्रपति रनिल विक्रमसिङ्घेलाई सरकारी कोष दुरुपयोग गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । यो आरोप उनले राष्ट्रपतिको कार्यकालमा गरेका विदेश भ्रमणसँग सम्बन्धित रहेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

उनलाई कोलम्बोको म्याजिस्ट्रेट अदालतमा शुक्रबार उपस्थित गराइएको थियो । त्यसअघि उनले आपराधिक अनुसन्धान विभाग (सीआईडी) मा बयान दिएका थिए । विक्रमसिङ्घेले सन् २०२२ देखि २०२४ सम्म श्रीलङ्काको राष्ट्रपतिका रूपमा कार्यकाल सम्हालेका थिए । देशको सबैभन्दा खराब आर्थिक सङ्कटले जनविद्रोह निम्त्याउँदा उनका पूर्ववर्ती गोताबाया राजपाक्षे देश छोडेर भागेपछि उनले राष्ट्रपतिको जिम्मेवारी सम्हालेका थिए ।

उनलाई देशको आर्थिक पुनरुत्थानमा महत्त्वपूर्ण योगदान गरेको श्रेय दिइन्छ । विक्रमसिङ्घेले १९९० को दशकदेखि ६ पटक श्रीलङ्काको प्रधानमन्त्रीको भूमिका पनि निर्वाह गरेका थिए । बीबीसी सिन्हालाका अनुसार ७६ वर्षीय विक्रमसिङ्घेले राष्ट्रपतिको कार्यकालमा २३ विदेश भ्रमण गरेका थिए, जसमा ६० करोड श्रीलङ्काली रुपैयाँ (लगभग २ मिलियन अमेरिकी डलर वा १.४ मिलियन पाउन्ड) खर्च भएको थियो ।

उनको मुद्दा सन् २०२३ मा क्युबामा भएको जी–७७ शिखर सम्मेलनबाट फर्कने क्रममा बेलायतमा गरेको स्टपओभरसँग सम्बन्धित छ । उक्त अवसरमा उनले आफ्नी पत्नीसहित वुल्भरह्याम्प्टन विश्वविद्यालयको समारोहमा भाग लिएका थिए । सीआईडीले यो निजी भ्रमणका लागि सरकारी कोष प्रयोग भएको आरोप लगाएको छ, जसलाई विक्रमसिङ्घेले अस्वीकार गरेका छन् । यो अनुसन्धान गत जुनमा अदालतमा पेस गरिएको थियो ।

श्रीलङ्काको इतिहासमा पहिलो पटक पूर्वराष्ट्रपति पक्राउ परेका विक्रमसिङ्घे सन् १९७७ मा पहिलो पटक सांसद निर्वाचित भएदेखि देशको राजनीतिमा प्रभावशाली व्यक्तित्व रहँदै आएका छन् । पेशाले वकिल रहेका उनी सम्पन्न राजनीतिज्ञ र व्यवसायी परिवारबाट आएका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर