रुस युक्रेन युद्ध चर्कने, हार खाएका ट्रम्पले जेलेन्स्कीलाई थप हतियार दिँदै ?

काठमाडौं ।  अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले रुसमाथि आक्रमण गर्नका लागि युक्रेनलाई संकेत दिएका छन् । युक्रेन युद्ध रोक्न नसकेपछि निराश भएका ट्रम्पले ट्रुथ सोसल सामाजिक सञ्जालमा बिहीवार पोस्ट गरेर त्यस्तो संकेत दिएका हुन् ।

‘अतिक्रमणकारी मुलुकमा आक्रमण नगरिकन युद्ध जित्नु असम्भव नभए पनि निकै कठिन चाहिँ छ’, उनले लेखे, ‘खेलकुदमा कुनै टोलीसँग गजबको डिफेन्स छ तर उसलाई अफेन्स खेल्न दिइँदैन । त्यसो हुँदा जित्ने अवसर नै हुँदैन । युक्रेन र रुसका सन्दर्भमा त्यस्तै भइरहेको छ ।’

त्यसमा उनले थपे, ‘धूर्त र पूर्ण अक्षम जो बाइडनले युक्रेनलाई प्रत्याक्रमण गर्न दिएका थिएनन्, प्रतिरक्षा मात्र गर्न दिएका थिए । त्यसले काम गर्‍यो त ? जे होस्, म राष्ट्रपति भइरहेको भए यो युद्ध नै हुँदैनथियो । त्यसको सम्भावनै थिएन । अबको समय रोचक हुनेछ ।’

ट्रम्पको यस्तो भनाइले रुसलाई बिच्क्याउन सक्छ । रुसको भूमिमा युक्रेनले गर्ने सबै किसिमका आक्रमणलाई मस्कोले लक्ष्मणरेखा पार गरेको मान्नेछ । बाइडन प्रशासनको समयमा अमेरिकाले युक्रेनलाई अमेरिकी लामो दूरीको क्षेप्यास्त्र रुसी भूमिमा पुग्ने गरी प्रहार गरेको थिएन ।

तर, युक्रेनका साझेदारहरूले दबाब दिएपछि अमेरिकाले त्यो नीतिमा नोभेम्बर २०२४ मा परिवर्तन गर्‍यो । त्यसपछि रुसले आफ्नो आणविक हतियार नीतिलाई अद्यावधिक गर्दै आफूमाथि आणविक शक्तिको सहयोगमा हुने आक्रमणलाई संयुक्त आक्रमण मानिने र त्यस अवस्थामा आणविक हतियार चलाउने जनायो ।

त्यसको केही दिनपछि रुसले युक्रेनको निप्रो शहरलाई ताकेर मध्यम दूरीको अन्तरमहादेशीय ब्यालिस्टिक क्षेप्यास्त्र ओरेश्निक प्रहार गर्‍यो । युक्रेनले लामो दूरीको ड्रोन आक्रमण गरी रुसको ऊर्जा र सैन्य केन्द्रमा गर्ने आक्रमणमाथि टिप्पणी गर्दै रुसले युक्रेन सरकारलाई आतंकवादी सत्ता भन्ने गरेको छ ।

तर, युक्रेनलाई रुसमाथि लामो दूरीको क्षेप्यास्त्रले आक्रमण गर्ने संकेत गरेर ट्रम्पले यस युद्धमा आणविक हतियार प्रहार गर्ने जोखिम बढाएका छन् । रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीबीच द्विपक्षीय भेटघाट गराउने योजना ह्वाइट हाउसले बनाइरहेकोमा मस्कोले त्यो सही नभएको बताएपछि ट्रम्पको पारा तातेको हो । पुटिनले यस्तो भेटघाटका लागि सहमति नदिएको र नेतृत्वस्तरीय कुराकानी तत्काल नहुने मस्कोले स्पष्ट पारेको छ ।

त्यससँगै रुसले युक्रेनमाथि बिहीवार शृंखलाबद्ध हवाई आक्रमण गरेको थियो । रुसले अमेरिकी स्वामित्वको उत्पादन कम्पनीमा आक्रमण गर्दा कम्तीमा १५ जनाको मृत्यु भएको थियो । निकट भविष्यमा युरोप र अमेरिका मिलेर युक्रेनलाई ९० बिलियिन डलरबराबरको अत्याधुनिक हतियार उपलब्ध गराउने सहमति भइसकेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर