उपसभामुख रानालाई पदबाट हटाउन एमाले-कांग्रेसका सांसदहरूको हस्ताक्षर संकलन

काठमाडौं । उपसभामुख इन्दिरा रानालाई पदबाट हटाउने तयारी सत्तारुढ नेपाली काँग्रेस र नेकपा एमालेले गरेका छन् । त्यसका लागि सिंहदरवारस्थित संसदीय दलको कार्यालयमा दुवै दलका सांसदहरूको हस्ताक्षर संकलन गर्ने कार्य धमाधम भइरहेको छ ।
उपसभामुख राना हाल अमेरिका भ्रमणमा रहेकी छन् । उनी साउन ३० गते अमेरिका प्रस्थान गरेकी थिइन् । राना अमेरिकामै रहँदा नेपालमा उनलाई पदमुक्त गर्ने तयारी भइरहेको छ ।
सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा काँग्रेस–एमाले नेताहरूबीच भएको बैठकमा महान्यायाधिवक्ता रमेश बडालसहितका कानुनी व्यक्तिहरू सहभागी थिए । कांग्रेसबाट पूर्णबहादुर खड्का, गृहमन्त्री रमेश लेखकलगायतको बैठकमा सहभागिता थियो ।
बैठकमा सामाजिक सञ्जाल नियमनसम्बन्धी सर्वोच्च अदालतको फैसलासँगै उपसभामुखलाई पदमुक्त गर्ने विषयमा पनि छलफल भएको थियो । सोही छलफलको आधारमा मंगलबारदेखि प्रक्रिया अघि बढाइएको स्रोतले जनाएको छ ।
उपसभामुख रानामाथि अमेरिका लैजाने प्रयोगका लागि भिसा उपलब्ध गराउन अमेरिकी दूतावासमा आफ्नै लेटर प्याड प्रयोग गरेर चिठ्ठी पठाएको आरोप छ । सो आरोपपछि काँग्रेस र एमालेबीच उनलाई पदमुक्त गर्ने सहमति बनेको हो ।