युक्रेन नेटोमा नजाने र क्रिमिया रुसलाई छोड्नुपर्ने ट्रम्पको सर्त

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनलाई शान्ति सम्झौताका लागि सर्त राखेका छन् । आज युक्रेनका राष्ट्रपति भ्लोदभोलोदिमिर जेलेन्स्कीसँग भेट्नुअघि ट्रम्पले शान्ति सम्झौताका लागि दुई सर्त अघि सारेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।
अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूमा प्रकाशित समाचारअनुसार ट्रम्पले शान्ति सम्झौताका लागि युक्रेन नेटोमा नजाने र क्रिमिया रुसलाई छोड्दिनुपर्ने सर्त राखेका छन् । उनले यी दुई कुरामा युक्रेन तयार भए युद्ध अन्त्य हुने दाबी गरेका छन् ।
हालै सम्पन्न अलास्का शिखर सम्मेलनमा रुसी राष्ट्रपित भ्लादिमिर पुटिन भूमि साटासाटका लागि लचक भएको अमेरिकी दूत स्टीभ विटकोफले जनाएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीबीच आज ह्वाइट हाउसमा भेट हुँदै छ । भेटका लागि जेलेन्स्की युरोपेली नेताहरूसहित ह्वाइट हाउस जाँदै छन् ।
यसैबीच देशलाई सुरक्षा ग्यारेन्टी दिने अमेरिकाको निर्णयप्रति जेलेन्स्कीले खुसी व्यक्त गरेका छन् । साथै, जेलेन्स्कीले शान्ति सम्झौताको लागि अमेरिका, रुस र युक्रेनको तीन–स्तरीय संरचना सिर्जना गर्न अपिल पनि गरेका छन्, ताकि विभिन्न मुद्दाहरूमा सहमति जुटाउन सकियोस् ।
‘महत्त्वपूर्ण मुद्दाहरू समाधान गर्न युक्रेनलाई प्रत्यक्ष रूपमा वार्तामा संलग्न गराउनुपर्छ भन्ने कुरामा सबैले समर्थन गरेका छन्,’ सामाजिक सञ्जालमा शेयर गरिएको पोस्टमा जेलेन्स्कीले लेखेका छन् ।
‘युक्रेनलाई सुरक्षा प्रत्याभूति दिने अमेरिकाको निर्णय ऐतिहासिक छ । यद्यपि, यो व्यावहारिक हुनुपर्छ र यसले युक्रेनलाई जमिनका साथै हावा र समुद्रमा सुरक्षा प्रदान गर्नुपर्छ । साथै, युरोपलाई पनि यसमा समावेश गर्नुपर्छ ,’ पोस्टमा लेखिएको छ ।
जेलेन्स्कीले युरोपेली नेताहरूलाई २०२२ मा जस्तै एकताबद्ध रहन पनि अपिल गरेका छन् । वास्तविक शान्तिको लागि युरोप एकताबद्ध रहन आवश्यक भएको उनले बताए । अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष सल्लाहकार स्टिभ विटकफले अलास्कामा भएको बैठकमा रुसी राष्ट्रपति पुटिनले पनि युक्रेनलाई सुरक्षा ग्यारेन्टी दिने कुरामा सहमति जनाएको दाबी गरेका छन् ।