गाजामा दस लाख महिला र किशोरी अत्यधिक भोकमरीमा

काठमाडौं ।  गाजामा करिब दस लाख महिला र किशोरीहरू अत्यधिक भोकमरी, हिंसा र दुर्व्यवहारको सामना गरिरहेका छन् भनेर संयुक्त राष्ट्रसंघको राहत तथा कार्य एजेन्सी (यूएनआरडब्लुए) ले शनिबार चेतावनी दिएको छ ।

एजेन्सीले सामाजिक सञ्जालमा लेख्दै भन्यो, “गाजामा भोक तीव्ररूपमा फैलिरहेको छ । महिला र किशोरीहरू खाना र पानी खोज्न अत्यन्तै जोखिमपूर्ण अवस्थामा बाहिर निस्कन बाध्य छन्, जहाँ उनीहरूको ज्यानको समेत खतरा रहेको छ ।” एजेन्सीले गाजामाथिको इजरायली नाकाबन्दी तुरुन्त हटाउन माग गर्दै ठूलो मात्रामा राहत सामग्री भित्र्याउन अनुमति दिन आग्रह गरेको छ । गाजामा हाल २० लाखभन्दा बढी मानिस बसोबास गर्छन् ।
स्वास्थ्य अधिकारीहरूका अनुसार पछिल्लो २४ घण्टामा कुपोषण र भोकका कारण एक बालकसहित थप ११ जनाको मृत्यु भएको छ । योसँगै भोकमरीका कारण मृत्यु हुनेको संख्या २५१ पुगेको छ, जसमा १०८ बालबालिका छन् । गत वर्षको मार्च महिनादेखि इजरायली आक्रमणका कारण हालसम्म ६१ हजार ८ सयभन्दा बढी मानिसको मृत्यु भएको छ भने एक लाख ५५ हजारभन्दा बढी घाइते भएका छन् ।

गत बिहीबार १०८ गैरसरकारी संस्थाहरूले संयुक्त विज्ञप्ति जारी गर्दै मे १९ यता अधिकांश अन्तर्राष्ट्रिय संस्थाहरूले गाजामा एक गाडी पनि जीवनरक्षक सामग्री पु¥याउन नसकेको जनाएका छन् । इजरायलले ती संस्थाहरूलाई राहत वितरणको अनुमति नदिएको जनाएको छ । जुलाई महिनामा मात्रै ६० भन्दा बढी निवेदन अस्वीकृत गरिएको छ ।

संयुक्त राष्ट्रसंघको मानव अधिकार कार्यालयका अनुसार जुन १३ देखि जुलाई २८ सम्मको अवधिमा राहत लिन गएका कम्तीमा एक हजार ७६० जना गाजावासीको ज्यान गएको छ । तीमध्ये ९९४ जना राहत वितरण केन्द्र नजिकै र ७६६ जना राहत गाडीहरू चल्ने बाटोमा मारिएका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर