अलास्का वार्ता १० मध्ये १० अंक : राष्ट्रपति ट्रम्प
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अलास्कामा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको भेटलाई ʻ१० मध्ये १०ʼ मूल्याङ्कन दिएका छन्। उनले भने, ʻहाम्रो बैठक धेरै राम्रो रह्यो। अब युरोपेली सहभागिताको साथ सम्झौतामा पुग्ने जिम्मा जेलेन्स्कीको हो।ʼ
ट्रम्पले भने, ʻरूस र युक्रेनले अर्को वार्ता गर्नेछन्। यसमा भ्लादिमिर पुटिन र भोलोडिमिर जेलेन्स्की दुवै सहभागी हुनेछन्। अब के हुन्छ हेरौं।ʼफक्स न्यूजसँग कुरा गर्दै ट्रम्पले कुन बुँदाका कारण सम्झौता हुन सकेन भन्नेबारे विस्तृत रूपमा बताउन अस्वीकार गरे।
उनले पूर्व राष्ट्रपति जो बाइडेन रुसको आक्रमण रोक्न असफल भएको आरोप लगाए। ट्रम्पले एउटा सम्झौता हुन लागेको र यसमा कैदीहरूको आदानप्रदान पनि समावेश हुन सक्ने बताए। यसैबीच, रुस–युक्रेन युद्धविरामबारे अमेरिका र रुसबीच वार्ता अनिर्णीत हुँदा रुस र युक्रेनबीच युद्ध जारी छ। युक्रेनले आफ्नो सेनाले डोनेट्स्कको पूर्वी क्षेत्रका गाउँ पुनः कब्जा गरेको बताएको छ।
पोकरोभ्स्क क्षेत्रको डोब्रोपिल्या नजिकै भएको लडाइँमा सयौं रुसी सैनिक मारिएको युक्रेनको दाबी छ। यसअघि युक्रेनी अधिकारीहरूले सुमी लगायत अन्य धेरै ठाउँमा रुसी हवाई आक्रमण जारी रहेको बताएका थिए।
यसैबीच अलास्कामा भ्लादिमिर पुटिन र डोनाल्ड ट्रम्पबीचको कुराकानी भएको तीन घण्टाभन्दा बढी वार्ताबारे राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले कुनै प्रतिक्रिया दिएका छैनन्।
