नेकपा एसको आकस्मिक केन्द्रीय समितिको बैठक बस्ने

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले यही साउन २७ र २८ गते काठमाडौँमा केन्द्रीय कमिटी बैठक आह्वान गरेको छ । आगामी भदौ ८ गते तोकिएको उक्त बैठक करिब दुई साता अगाडि आकस्मिक रूपमा बोलाइएको हो ।

केन्द्रीय प्रचार विभाग उपप्रमुख दामोदर अर्यालका अनुसार पार्टीभित्र शीर्ष नेताहरूबीच वैचारिक विवाद बढेपछि अधिकांश नेताहरूले सङ्गठनको आन्तरिक द्वन्द्व केन्द्रीय कमिटीबाट अविलम्ब टुङ्गो लगाउन माग गरेका थिए ।

पार्टीको सुदृढीकरण, वडा तहबाट भएको कार्यको समीक्षा, समसामयिक राजनीतिक विषयवस्तु, वामपन्थी शक्तिबीच एकता, समान विचारधारा भएका पार्टीसँग गरिने सहकार्यलगायत विषयमा निर्णय गरिने छ ।

केन्द्रीय कमिटीका मुख्य एजेण्डा तथा कार्यक्रम तय गर्न यही साउन २५ गते स्थायी कमिटी र साउन २६ गते सचिवालय बैठक बोलाइएको छ । भ्रष्टाचार, जनजीविकासँग सम्बन्धित मुद्दामा पार्टीले सञ्चालन गरेका अभियानबारे समीक्षा गरिने बैठकमा पार्टीका नेताहरूलाई दिइएको भूगोल केन्द्रित जिम्मेवारी तथा कार्यप्रगतिको छलफल गरिने जनाइएको छ ।

यसैबीच विवाद समाधानका लागि पार्टीका सम्मानित नेता झलनाथ खनाल र वरिष्ठ नेता वामदेव गौतमबीच हिजो शनिबार करिब चार घण्टा लामो छलफल भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर