जापानमा घरेलु खर्च १.३ प्रतिशतले वृद्धि, लगातार दोस्रो महिना सकारात्मक संकेत

टोकियो । जापानमा गत वर्षको सोही अवधिको तुलनामा घरेलु खर्च १.३ प्रतिशतले बढेको छ, जसले लगातार दोस्रो महिना वृद्धि भएको देखाएको छ। गाडी खरिद र विद्युत् महसुलमा गरिएको बढी खर्च यस वृद्धिको मुख्य कारण रहेको जापानी सरकारले जनाएको छ।
जापानको आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयका अनुसार, दुई वा दुईभन्दा बढी सदस्य भएका परिवारले औसत दुई लाख ९५ हजार ४१९ येन (करीब दुई हजार अमेरिकी डलर) खर्च गरेका थिए। यातायात र सञ्चार क्षेत्रमा खर्च ८.६ प्रतिशतले बढेको छ भने ऊर्जा र पानीमा गरिएको खर्च ६.३ प्रतिशतले बढेको छ। गर्मीको मौसममा एयर कन्डिसनरको बढी प्रयोगका कारण ऊर्जा खर्च बढेको बताइएको छ।
यद्यपि, खाद्यान्नमा खर्च २.१ प्रतिशतले घटेको छ, जुन पछिल्ला तीन महिनामा पहिलोपटक गिरावट हो। विशेषगरी, चामलको खर्च १२.१ प्रतिशतले घटेको छ, जसको कारण सरकारले आफ्ना भण्डारबाट चामल बजारमा आपूर्ति गरेपछि उपभोक्ताहरूले सस्तो वा कम मात्रामा खरिद गरेको मानिएको छ।
जापानको कुल गार्हस्थ उत्पादन (जीडीपी) मा घरेलु खर्चको हिस्सा आधाभन्दा बढी भएकाले यसलाई देशको निजी उपभोगको प्रमुख सूचक मानिन्छ।