क्रु–१० अन्तरिक्ष यात्रीहरूको पृथ्वी फर्कने यात्रा सुरु

काठमाडौं । पाँच महिना लामो अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसएस) बसाइपछि नासाको क्रु–१० अन्तरिक्ष मिशनमा सहभागी चार जना अन्तरिक्ष यात्री शुक्रबारदेखि पृथ्वी फर्कने यात्रामा निस्किएका छन्।
अन्तरिक्ष यात्रीहरू सवार स्पेसएक्सको ‘ड्रैगन’ अन्तरिक्ष यान शुक्रबार साँझ ६ः१५ बजे (पूर्वी समय अनुसार) आईएसएसको हार्मोनी मोड्युलबाट सफलतापूर्वक अलग भएको नासाले जनाएको छ। सो यान शनिबार बिहान ११ः३३ बजे अमेरिकाको क्यालिफोर्नियाको समुद्री तट नजिक अवतरण गर्ने तालिका रहेको छ।
यस मिसनमा नासाका महिला अन्तरिक्ष यात्री एनी म्याकक्लेन र निकोल एयर्स, जापान अन्तरिक्ष अनुसन्धान संस्था (जाक्सा) का टाकुया ओनिशी, र रुसका अन्तरिक्ष यात्री किरिल पेस्कोभ सहभागी छन्।
स्पेसएक्सको सहकार्यमा सञ्चालित यो मिशन नासाको व्यावसायिक अन्तरिक्ष यात्री आदानप्रदान कार्यक्रमअन्तर्गतको दशौँ औपचारिक उडान हो। उक्त कार्यक्रमअन्तर्गत विभिन्न अन्तर्राष्ट्रिय अन्तरिक्ष यात्रीहरूलाई अन्तरिक्ष स्टेशनमा पठाउने गरिन्छ।