भारत–रुस सम्बन्ध थप सुदृढ पार्न मोदी र पुटिनबीच टेलिफोनवार्ता

काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग हिजो टेलिफोनवार्ता गर्नुभएको छ । वार्ता भारत–रुस द्विपक्षीय सम्बन्धलाई थप मजबुत बनाउने, अमेरिकाले लगाएको भन्सार कर, युक्रेनको परिस्थितिलगायतका विषयमा केन्द्रित रहेको थियो ।
कुराकानीपछि भारतीय प्रधानमन्त्री मोदीले सामाजिक सञ्जालमा यसैवर्ष पुटिनलाई भारतमा स्वागत गर्न प्रतीक्षारत रहेको समेत जानकारी दिनुभएको छ । मोदी र पुटिनबीचको यो संवाद हालै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतमाथि उच्च भन्सार शुल्क लागू गर्ने निर्णयपछि भएको हो । ट्रम्पले भारतले गर्ने रुसी तेलको आयातलाई देखाउँदै भारतीय वस्तुमाथि लाग्ने भन्सार दर २५ प्रतिशतबाट बढाएर ५० प्रतिशत पुर्याउने घोषणा गर्नुभएको छ ।
युक्रेनसँगको युद्धमा रुसी तेललाई प्रमुख आर्थिक स्रोत मानिन्छ । प्रारम्भिक रूपमा २५ प्रतिशत भन्सार लागू भइसकेको छ भने बाँकी थप २५ प्रतिशत अबका तीन हप्ताभित्र लागू हुने भनिएको छ । अमेरिकाले भारतलाई रुसी तेल खरिद बन्द गर्न दबाव दिएको छ । यो दबावले भारत कठिन निर्णय गर्नुपर्ने अवस्थामा छ । त्यस्तै रुस भारतको प्रमुख रक्षा साझेदार पनि रहँदै आएको छ ।
अस्ति बिहीवार भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालले रुसी राष्ट्रपति पुटिनसँग शिष्टाचार भेट समेत गर्नुभएको थियो । भारतले रुससँगै चीन, ब्राजिललगायतका देशसँग पनि संवाद गर्दै अन्तर्राष्ट्रिय साझेदारी सन्तुलनमा राख्ने प्रयास गरिरहेको छ । अमेरिकी राष्ट्रपति ट्रम्प र रुसी राष्ट्रपति पुटिनबीच युक्रेनसम्बन्धी शिखर वार्ता छिट्टै हुनसक्ने अपेक्षा समेत गरिएको छ ।