राष्ट्रिय गौरवका आयोजना समयमा सम्पन्न गर्न सांसदहरूको दबाब

काठमाडौं । राष्ट्रियसभाको आजको बैठकमा सांसदहरूले राष्ट्रिय गौरवका आयोजना तोकिएको समयमा सम्पन्न गर्न माग गरेका छन्। सिँचाइका लागि अत्यावश्यक ठूला तथा राष्ट्रिय गौरवका आयोजना ढिलाइ हुँदा सुक्खाग्रस्त क्षेत्रमा समस्या थपिएको भन्दै सांसदहरूले चिन्ता व्यक्त गरे।

विशेष समयमा बोल्दै सांसद युवराज शर्माले आयोजना समयमा पूरा गर्ने गरी प्रक्रिया अगाडि बढाउन आग्रह गरे। उनले मधेशमा सुक्खा समस्या बढ्दो अवस्थामा रहेको उल्लेख गर्दै चुरे क्षेत्रका ढुङ्गा र गिट्टी निकासी रोक्नुपर्नेमा जोड दिए। साथै, कानुनी शासनको प्रत्याभूति र सरकारी निकायमा खर्च कटौतीको प्रस्तावलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने धारणा राखे।

सांसद मायाप्रसाद शर्माले भारतको उत्तराखण्डमा गएको भीषण बाढीमा परेर नेपाली नागरिक बेपत्ता भएको घटनाप्रति चिन्ता व्यक्त गर्दै खोजी तथा उद्धारमा सरकारलाई सक्रिय पहल गर्न आग्रह गरिन्। उनका अनुसार, साउन २० गते उत्तरकाशीको धराली गाउँमा आएको बाढीका कारण जाजरकोट, बर्दिया र धादिङका २२ नेपाली सम्पर्कविहीन भएका छन्।

त्यसैगरी, उनले निर्वाचन आयोगले अगाडि सारेको ‘राजनीतिक दल स्वमूल्याङ्कन कार्यविधि, २०८२’ प्रति आपत्ति जनाउँदै दलको मूल्याङ्कन नेपाली जनताले निर्वाचनमार्फत गर्ने तर्क गरिन्। निजामती सेवा विधेयकलाई शीघ्र अघि बढाउन पनि माग गरिन्।

सांसद मोहम्मद खालिदले समेत उत्तराखण्डको बाढीमा बेपत्ता भएका नेपालीको खोजीमा आवश्यक पहल गर्न सरकारको ध्यानाकर्षण गराए।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर