“ज्ञानेन्द्र शाह असली राजै होइन, कुसको राजाका रूपमा ल्याइएको हो”

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराजा ज्ञानेन्द्र शाह असली राजा नभएको टिप्पणी गरेका छन् । प्रधानमन्त्रीनिवास बालुवाटारमा आइतबार आयोजित लोकतन्त्र र जनअभिमत नेपालको निर्वाचन इतिहास नाम पुस्तकको लोकार्पण समारोहमा उनले भने, “वास्तविक राजतन्त्र वीरेन्द्र र दीपेन्द्रको मृत्युसँगै सकिएको थियो । दरबार हत्याकाण्ड भएपछि ज्ञानेन्द्रलाई कुसको राजाका रूपमा ल्याइएको हो ।
उनले भने, ‘दरबार हत्याकाण्ड भनेको सानो कुरा हो । त्यसपछि एउटा कुसको राजा स्थापना गरेको भन्छु मैले । त्यो असली राजै होइन । राजा मारियो, रानी मारिए, युवराज मारिए । यता उता नभएको भाइ चाहिँ खोजेर ल्याएर बनाएको छ । दरबार हत्याकाण्डको परिकल्पना गरेको छ । अनि त्यस बाटोबाट आएको राजाले जनताको अधिकार खोस्छ । एउटा कठपुतली आयोग बनाएर अख्तियार बाँकी छोडेर, शेरबहादुर देउवामाथि मुद्दा चलाउँदै थियो । अख्तियारले चलाएर नहुने, यो सबै २००७ सालमा राजा फर्काएको परिणाम हो । दिल्ली गइसकेका थिए, उतै बस्न दिएको भए भइहाल्थ्यो नि । राजा फर्काउँदैनौँ, अरू कुरामा सम्झौता गर्छौँ भनेको भए पनि हुन्थ्यो होला । खैर त्यो अंग्रेजहरूको कुरा हो । त्रुटि भयो । जसले गर्दा भोगेको भोग्यै गर्नुपर्यो, ०६५ सालसम्म ।’