भारतमा थप तीनजना आतंककारी मारिए

काठमाडौंं । पहलगाम आक्रमणपछि भारतीय सेनाले आतंकवाद नष्ट गर्न चलाएको अखल (जंगल) अपरेशनमा तीन जना आतंकवादी मारिएका छन् । सुरक्षाकर्मीहरूले विगत सय दिनमा १२ जना मोस्ट वान्टेड आतंकवादीलाई मारिसकेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
२८ जुलाईमा ‘महादेव अपरेशन’ मा लश्कर–ए–तैयबाका तीन आतंकवादी मारिए, जसमा पहलगाम आक्रमणको मास्टरमाइन्ड मूसा पनि थिए । त्यसपछि ३० जुलाईमा ‘शिवशक्ति अपरेशन’ मा दुई आतंकवादीलाई मारियो, जहाँ सीमा पारबाट घुसपैठ गर्ने प्रयास भइरहेको सूचना थियो ।
१ अगस्टको राति कुलगाम जिल्लामा सुरक्षा बल र आतंकवादीबीच भएको मुठभेडमा तीन आतंकवादी मारिएका भारतीय सेनाले जनाएको छ। सुरक्षा बलहरूले यस अभियानलाई ‘अखल अपरेशन’ को नाम दिएका छन् । शुक्रबार सुरक्षा बललाई अखलका जंगलमा आतंकवादी लुकेका सूचना प्राप्त भएको थियो र त्यसपछि अपरेशन सुरु गरियो । आतंकवादीहरूले सुरक्षाकर्मीमाथि गोली चलाएपछि मुठभेड भएको थियो ।