कश्मीरमा पर्यटक आक्रमणमा संलग्न बन्दुकधारी मारिए

काठमाडौं । भारतीय सुरक्षा बलको कारबाहीमा भारतीय कश्मीरमा हिन्दू पर्यटकमाथि आक्रमणमा संलग्न तीन बन्दुकधारी मारिएको गृहमन्त्री अमित शाहले मङ्गलबार बताएको छ ।
अप्रिल २२ मा भारतीय काश्मीरको लोकप्रिय रिसोर्ट शहरमा २६ जनाको गोली हानी हत्या भएको तीन महिनाभन्दा बढी समयपछि सोमबार सैन्य कारबाहीमा भारी हतियारधारी ती मानिस मारिएका थिए । “म संसद्लाई भन्न चाहन्छु कि बैसरनमा आक्रमण गर्नेहरू तीन आतङ्कवादी थिए र तीनैजना मारिएका छन्”, उनले भने ।
शाहले मारिएका तीनमध्ये दुईजना पाकिस्तानमा रहेको संयुक्त राष्ट्रसङ्घद्वारा घोषित आतङ्कवादी समूह लश्कर–ए–तैयबाका सदस्यका रूपमा पहिचान गष्रिएको छ । “भारतीय सुरक्षा निकायहरूसँग आक्रमणमा उनीहरूको संलग्नताको विस्तृत प्रमाण छ”, उनले संसद्को तल्लो सदन (लोकसभा) मा भने । सोमबारको अपरेसन मुख्य शहर श्रीनगरबाट करिब ३० किलोमिटर (१८ माइल) टाढाको दाचिगामको पहाडमा भएको सेनाले एक विज्ञप्तिमा जनाएको छ ।
अप्रिलमा भएको आक्रमणमा पहलगाम नजिकैको जङ्गलबाट बन्दुकधारीहरू बाहिर निस्केर आगन्तुकहरूको भीडमाथि स्वचालित हतियारहरूले गोलीबारी गरेका थिए । मारिएका सबै व्यक्ति नेपालका एक जनाबाहेक भारतका बासिन्दाका रूपमा सूचीबद्ध थिए ।
भारतले पाकिस्तानलाई आक्रमणकारीहरूलाई समर्थन गरेको आरोप लगाएको थियो । उक्त आरोपलाई इस्लामाबादले अस्वीकार गरेको थियो । जसले गर्दा मे महिनामा आणविक–सशस्त्र प्रतिद्वन्द्वीहरूबीच चार दिनको तीव्र द्वन्द्व हुँदा दुवै पक्षका ७० भन्दा बढी मानिसको मृत्यु भएको थियो ।
मुस्लिम बहुल कश्मीर सन् १९४७ मा ब्रिटिस शासनबाट स्वतन्त्र भएदेखि नै भारत र पाकिस्तानबीच विभाजित छ र दुवैले यस क्षेत्रलाई पूर्णरूपमा दावी गर्ने भारत पाकिस्तानले यसको नियन्त्रणलाई लिएर दुई युद्ध र धेरै द्वन्द्व लडेका छन् ।