मोर्चाले बेथितिविरुद्ध गतिविधि अगाडि बढाउने, मोर्चा विघटन गर्ने विप्लवको प्रस्ताव

काठमाडौं । समाजवादी मोर्चाले आफ्ना गतिविधिलाई औचित्यपूर्ण ढंगले अघि बढाउने निर्णय गरेको छ।
नेकपा एकीकृत समाजवादीको पार्टी कार्यालय आलोकनगरमा मंगलबार बसेको मोर्चाको बैठकले मुलुकमा बेतिथि बढेको भन्दै त्यसका विरुद्ध औचित्यपूर्ण ढंगले आफ्नो गतिविधिलाई अघि बढाउने निर्णय गरेको हो।
बैठकपछि माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अझ औचित्यपूर्ण र सक्रिय भएर मोर्चा अघि बढ्ने जानकारी दिए। उनले पार्टीभित्र अहिले कुनै समस्या नरहेको समेत बताए। त्यस्तै नेकपा एकीकृत समाजवादीका नेता बामदेव गौतमले मोर्चाको बैठकमा अहिलेसम्मको कामको समीक्षा भएको बताए। उनले भ्रष्टाचार, बेतिथि र देशलाई बर्बादीबाट जोगाउन छिटै ठूलो प्रदर्शन गर्ने निर्णय भएको जानकारी दिए।
मोर्चा विघटन गर्न विप्लवको प्रस्ताव
नेपाल कम्युनिस्ट पार्टी नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले चार दलीय समाजवादी मोर्चा विघटन गर्न प्रस्ताव गरेका छन् ।
नेकपा एकीकृत समाजवादीको कार्यालय आलोकनगरमा मंगलबार बसेको समाजवादी मोर्चाको बैठकमा मोर्चाका संयोजक समेत रहेका विप्लवले यस्तो प्रस्ताव गरेका हुन् । तर माओवादी केन्द्र र एकीकृत समाजवादीका नेताहरुले तत्काल मोर्चा विघटन गर्दा राम्रो सन्देश नजाने भन्दै विप्लवको प्रस्ताव अहिले नै कार्यान्वयन गर्नु उपयुक्त नहुने धारणा व्यक्त गरेको मोर्चा स्रोत जनाएको छ ।