बागमती कांग्रेसमा अविश्वासको प्रस्तावमाथि टुङ्गो लगाउन प्रक्रिया सुरु

काठमाडौं । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता बहादुरसिं लामा तामाङविरुद्धको अविश्वासको प्रस्तावमाथि टुङ्गो लगाउन आज सोमबारदेखि प्रक्रिया सुरु भएको छ । कांग्रेस बागमती प्रदेश संसदीय दलले अविश्वासको प्रस्तावमाथि छलफल गर्न आज अपराह्न संसदीय दलको बैठक राखेको छ ।
अविश्वासको प्रस्तावमाथिको प्रक्रिया अगाडि बढाउन पार्टी केन्द्रीय समितिले खटाएको केन्द्रीय पर्यवेक्षकको उपस्थिति अनिवार्य हुनुपर्ने व्यवस्थाअनुसार केन्द्रीय पर्यवेक्षकमा कांग्रेस केन्द्रीय सदस्य राजन केसीलाई पठाएको छ ।
केसीले अविश्वासको प्रस्तावलाई सकेसम्म सहमतिबाट समाधान गरिने र सहमति जुट्न नसकेमा प्रक्रिया अगाडि बढाइने बताए । बागमतीका मुख्यमन्त्रीसमेत रहेका लामाविरुद्ध कांग्रेसका ३७ प्रदेशसभा सदस्यमध्ये २१ जनाले अविश्वास प्रस्तावको पक्षमा हस्ताक्षर गरेका छन् । साउन ९ गते लामाविरुद्ध कांग्रेस संसदीय दलमा अविश्वासको प्रस्ताव दर्ता भएको थियो । कांग्रेस बागमती प्रदेश सभापति तथा प्रदेशसभा सदस्य इन्द्रबहादुर बानियाँको नेतृत्वमा अविश्वासको प्रस्ताव दर्ता भएको हो । मुख्यमन्त्री लामा र बानियाँ दुवै कांग्रेस सभापति शेरबहादुर देउवा पक्षधर हुन् ।
पहिलो चरणमा प्रस्तावमाथि छलफल र अविश्वासको प्रस्तावमाथि मत विभाजनबाट निर्णय गरिने छ । अविश्वासको प्रस्ताव पारित भएमा मात्र संसदीय दलको नेता चयन प्रक्रिया अगाडि बढाइने भएको छ । संसदीय दलको बैठकबाट नेता चयन गर्न आवश्यक चुनावी प्रक्रियाका लागि मिति तोकिनेछ ।
साथै संसदीय दलको नेता गोप्य मतदानबाट चयन गर्ने कांग्रेस संसदीय दलको विधानमा व्यवस्था छ । संसदीय दलको नेता निर्वाचित हुन ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्नुपर्ने प्रावधान छ । संसदीय दलको नेता नै मुख्यमन्त्री बन्ने भएका कारण जो दलको नेता बन्छ उसैले सरकारको नेतृत्व गर्ने केसीको भनाइ छ ।
मुख्यमन्त्री लामाले आफ्नोविरुद्धमा हस्ताक्षर गर्ने चार जना मन्त्रीलाई यसअघि नै पदमुक्त गरिसकेका छन् । यसअघि भएको संसदीय दलको नेताको निर्वाचनमा लामाले २१ मत पाउँदा बानियाँले १६ मत पाएका थिए ।