एमालेबाट लोकतन्त्र र गठबन्धनलाई धोका भयो : डा. शेखर

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले संघीय निजामती विधेयकमा नेकपा एमालेका सांसदहरूले हालेको संशोधन एमालेको दोहोरो चरित्र भएको बताएका छन् ।
गठबन्धनका दलहरूबीच भएको सहमतिविपरीत संशोधन हाल्नु एमालेको दोहोरो चरित्र मात्रै नभएर देश, जनता, लोकतन्त्र र गठबन्धनलाई धोका भएको उनले सामाजिक सञ्जालमार्फत बताए ।
‘नेकपा एमालेका सांसदहरुले राष्ट्रियसभामा संघीय निजामती विधेयकमा हालेको संशोधन आपत्तिजनक छ,’ उनले भनेका छन्, ‘गठबन्धनका दलबीच भएको सहमति र समितिमा भएको सर्वसम्मति विपरीत यसरी आफ्ना सांसदहरुलाई संशोधन हाल्न लगाउनु एमालेको दोहोरो चरित्र मात्र नभई उसले देश, जनता, लोकतन्त्र र गठबन्धनलाई दिएको धोका हो ।’
‘नेपाली कांग्रेसले यस सम्बन्धमा एमालेको आधिकारिक धारणा माग गर्नुपर्छ । साथै सबै मिलेर एमालेले हालेको संशोधन पास हुन दिनु हुन्न,’ उनले भनेका छन्, ‘कुलिङ पिरियड रहन्छ, रहन्छ र रहन्छ । कोही द्वीविधामा नपरे हुन्छ ।’
एमालेका तर्फबाट चारजना सांसदले राष्ट्रियसभामा कुलिङ पिरियड नै राख्न आवश्यक नरहेको तर्कसहित संशोधन प्रस्ताव दर्ता गरेका छन् ।