भारत-पाकिस्तानबिच युद्धबारे ट्रम्पको अर्को विवादास्पद भनाइ

काठमाडौं ।  अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले मे महिनामा भएको भारत-पाकिस्तान सङ्घर्षका दौरान ‘पाँच लडाकू विमान खसालिएका थिए’ भनेर दाबी गरेका छन्। तर उनले कुन देशका कति वटा लडाकू विमानलाई नोक्सानी पुगेको भनेर चाहिँ खुलाएनन्।

शुक्रवार ह्वाइट हाउसमा रिपब्लिकन सांसदहरूसँगको रात्रिभोजका बेला उनको यो नयाँ दाबी आएको हो। यसअघि पाकिस्तानले पनि भारतका ‘पाँच लडाकू विमान खसालिदिएको’ दाबी गरेको थियो। तर ती दाबीलाई भारतले खारेज गरिदिएको थियो।

ट्रम्पको ताजा दाबीपश्चात् भारतको विपक्षी पार्टी कांग्रेसले प्रधानमन्त्री नरेन्द्र मोदीसँग प्रश्न गरेको छ। सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै कांग्रेसले लेखेको छ, “ट्रम्पले भारत-पाकिस्तानबीचको युद्धमा पाँच जेट खसालिएको भनेका छन्। अनि यसको साथै २४ पटक उनले व्यापारको धम्की दिएर भारत-पाकिस्तान युद्ध रोकिदिएको भनेका छन्।”

“ट्रम्प लगातार यी कुरा दोहोर्‍याइरहेका छन् र नरेन्द्र मोदी मौन छन्। नरेन्द्र मोदीले व्यापारका निम्ति देशको सम्मानमाथि किन सम्झौता गरे?”मे महिनाको आखिरमा भारतका चीफ अफ डिफेन्स स्टाफ जनरल अनिल चौहानले पाकिस्तानसँग भएको सङ्घर्षका बेला भारतका लडाकू विमान खसालिएका भन्ने बारे सोधिएका प्रश्नको जबाफ दिएका थिए। उनले पाकिस्तानको तर्फबाट विमानहरूमा नोक्सानी पुर्‍याइएका दाबीलाई सोझै खारेज गरिदिएका थिए। यसका अतिरिक्त ट्रम्पले भारत र पाकिस्तानबीचको सङ्घर्षविराम गराइदिएको दाबी पनि गर्दै आएका छन्।

ट्रम्पले यहाँसम्म भनेका छन् कि उनले भारत र पाकिस्तानसँग व्यापार रोकिदिने धम्की दिएका थिए र त्यसपछि दुई देश सङ्घर्षविराम गर्न तयार भए। खासमा मे महिनाको सुरुमा भारत र पाकिस्तानबीच भएको सैन्य टकरावका बेला अमेरिकी उपराष्ट्रपति जेडी भान्सले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग कुराकानी गरेका थिए। अमेरिकाले सोही कुराकानीलाई सङ्घर्षविराम आफूले गराएको भनेर प्रचार गर्‍यो र ट्रम्पले नै सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत् सङ्घर्षविराम भएको घोषणा गरे। यो महिनाको सुरुमा भारतीय विदेशमन्त्री एस जयशङ्करले एउटा अन्तर्वार्तामा सङ्घर्षविराम सम्पूर्ण रूपमा द्विपक्षीय निर्णय भएको बताएका थिए।

शुक्रवार राति ह्वाइट हाउसमा रिपब्लिकन सांसदहरूको सामु ट्रम्पले अमेरिकाले कैयन् युद्ध रोकेको र ती सबै गम्भीर युद्ध रहेको बताएका थिए। उनले भने, “भारत र पाकिस्तानबीच पनि यही भइरहेको थियो। त्यहाँ विमान खसालिँदै थिए। मलाई लाग्छ खासमा पाँच जेट खसालिएका थिए। यी दुवै परमाणु शक्ति सम्पन्न देश हुन् र एकअर्काविरुद्ध हमला गरिरहेका थिए।”

“यस्तो लाग्छ यो एक नयाँ तरिकाको युद्ध हो। तपाईँहरूले हालै हामीले इरानमा के गर्‍यौँ भनेर देख्नु भयो। हामीले उनीहरूका परमाणु क्षमता पूर्ण रूपमा नष्ट गरिदियौँ।” बोल्ने क्रममा ट्रम्पले फेरि एक पटक व्यापारको पनि उल्लेख गरे र भने कि यसकै माध्यमबाट उनले युद्ध रोकाइदिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर