कुलमान घिसिङको ‘उज्यालो नेपाल अभियान’

काठमाडौं। नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङले देशमा मौलाएको निराशा र राम्रो काम गर्नेलाई अपमानित गर्ने प्रवृत्तिको अन्त्य गर्न ‘उज्यालो नेपाल अभियान’ सुरु गरेको घोषणा गरेका छन्।
बुधबार इटहरीमा आयोजित एक सम्मान कार्यक्रममा बोल्दै उनले आफ्नो बर्खास्ती, देशको वर्तमान अवस्था र भविष्यको राजनीतिक मार्गचित्रबारे महत्वपूर्ण धारणाहरू सार्वजनिक गरेका हुन्।
घिसिङले आफ्नो नयाँ अभियानको मुख्य उद्देश्य देशमा आशा जगाउनु र आत्मविश्वास बढाउनु रहेको बताए। उनले भने, ‘उज्यालो नेपाल भनेको बत्तीको उज्यालो मात्र होइन, यो हरेक क्षेत्रमा रहेको अँध्यारो हटाएर समृद्धि, सुशासन र सामाजिक न्यायको उज्यालो छर्ने अभियान हो।’
्घिसिङले देशमा राम्रो काम गर्ने व्यक्तिलाई पुरस्कृत गर्नुको साटो अपमानित गर्ने र पदबाट हटाउने गलत प्रवृत्ति हाबी भएकोमा कडा आलोचना गरे। उनले आफ्नो अनुभव सुनाउँदै भने, ‘लोडसेडिङ अन्त्य गर्ने, घाटामा रहेको प्राधिकरणलाई नाफामा लैजाने र भारतमा बिजुली निर्यात गर्ने जस्ता कामको पुरस्कारस्वरूप मलाई बर्खास्त गरियो।’