दमास्कसस्थित रक्षा मुख्यालयमा इजरायली हवाई हमला, स्वेदा प्रान्तमा २५० को मृत्यु

दमास्कस । इजरायलले बुधबार सिरियाको राजधानी दमास्कसस्थित रक्षा मन्त्रालयको मुख्यालयमा हवाई आक्रमण गरेको छ। अल जजिराका अनुसार, दुईवटा ड्रोनमार्फत गरिएको आक्रमणको भिडियो सामाजिक सञ्जालमा तीव्र गतिमा फैलिएको छ। भिडियोमा लाइभ टिभी प्रसारणका क्रममा बमबारी भइरहेको दृश्य देखिएको छ।

यता, सिरियाको दक्षिणी प्रान्त स्वेदामा पछिल्ला चार दिनदेखि शिया ड्रूज र सुन्नी बेदोइन समुदायबीच भइरहेको हिंसात्मक झडपमा मृत्यु हुनेको सङ्ख्या २५० पुगेको छ। मंगलबार घोषणा गरिएको संघर्षविराम बुधबार पुनः भङ्ग भएको हो।

स्वेदा क्षेत्रमा तनाव आइतबार सुरु भएको थियो, जब केही बेदोइन समूहका व्यक्तिहरूले एक ड्रूज नागरिकमाथि हमला गरी लुटपाट गरे। त्यसपछि दुवै समुदायबीच अपहरण, गोलीबारी र झडप चर्किएको हो। हिंसा नियन्त्रणका लागि सिरियाली सरकारले सेनाको तैनाथी गरे पनि ड्रूज मिलिशियाले असहयोग देखाएका छन्।

इजरायलले ड्रूज समुदायको समर्थनमा स्वेदा आसपासका क्षेत्रमा सिरियाली फौजमाथि बमबारी गरेको छ। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले ड्रूज समुदायको सुरक्षाका लागि आवश्यक कदम चालिएको बताएका छन्।

सिरियाको गृह मन्त्रालयले भने यो हिंसालाई साम्प्रदायिक नभई अपराधीहरूविरुद्धको सरकारी कारबाहीको रूपमा व्याख्या गरेको छ। हाल स्वेदा शहरमा इन्टरनेट तथा विद्युत् सेवा पूर्ण रूपमा अवरुद्ध छन्।

ड्रूज समुदायले विगत १४ वर्षको गृहयुद्धमा आफ्नो सुरक्षाका लागि मिलिशिया गठन गर्दै आएको हो। उनीहरूले नयाँ सरकारप्रति अविश्वास जनाउँदै सेनामा समावेश हुन अस्वीकार गरेका छन्। नयाँ राष्ट्रपति अहमद अल-शरा (पूर्व विद्रोही नेता मोहम्मद अल-जुलानी)सँगको अविश्वासका कारण झडप अझै बढेको बताइएको छ।

इजरायली हस्तक्षेपको पछाडि ड्रूज जनसंख्या भएका सीमावर्ती क्षेत्रहरूमा इरान समर्थक वा इजरायल विरोधी चरमपन्थी समूहहरूलाई रोक्न चाहनु र इजरायलमा बसोबास गर्ने ड्रूज समुदायप्रति उत्तरदायित्व मुख्य कारण भएको न्यूयोर्क टाइम्सले उल्लेख गरेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर