नेपालले भुटानलाई २९८ रनले हरायो

काठमाडौं । नेपालले एसीसी मेन्स यू–१६ इस्ट जोन क्रिकेटअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले भुटानमाथि सानदार जित निकालेको छ । नेपालले दिएको ३५९ रनको विशाल लक्ष्य पछ्याएको भुटानले ३२.४ ओभरमा ९ विकेट गुमाएर ६० रन मात्र बनाएपछि नेपाल २९८ रनले विजयी भएको हो । भुटानले नवौं विकेट गुमाएपछि पानी पनि पर्न थालेको थियो भने अन्तिम ब्याटर ब्याटिङमा नआउने भएपछि खेल सकियो ।
भुटानका सेजाङ दावाले सर्वाधिक १४ रन बनाए भने उगेन केल्जाङले १० रन बनाए । नेपालका लागि कप्तान बिपिन शर्माले १० ओभरमा ६ मेडन राख्दै ७ रन मात्र खर्चेर ४ विकेट लिए । यस्तै, सचिन भट्टले ८ ओभरमा ५ मेडनसहित १५ रन दिएर २ विकेट लिए भने सुयोग भट्टराईले पनि २ विकेट लिए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ५० ओभरमा ५ विकेट गुमाएर ३५८ रनको विशाल योगफल बनाएको थियो । प्रतियोगितामा यो दोस्रो सर्वाधिक स्कोर हो । यसअघि नेपालले नै इन्डोनेसियाविरुद्ध ४२० रनको योगफल बनाएको थियो । रौनक श्रीवास्तवले १३२ बलमा १६ चौका र ५ छक्कासहित १६८ रनको पारी खेले । नेपाली खेलाडीले कुनैपनि प्रतियोगितामा बनाएको यो सर्वाधिक व्यक्तिगत स्कोर हो ।
यसअघि सन् २०२३ अक्टोबरमा भएको एसीसी यू–१९ प्रिमियर कपमा अर्जुन कुमालले साउदी अरेबियाविरुद्ध १४३ रन बनाएका थिए । यस्तै, जोय थापा ६१ रनमा अविजित रहे भने शिवांश बजगाइले ५४ रन जोडे । सुगम बुढाथोकीले ३५ रन बनाए । भुटानका सन्जय दोर्जीले ३ विकेट लिए भने तेन्जिन लोदेले १ विकेट लिए ।
नेपालले पहिलो खेलमा सिंगापुरलाई ६ विकेटले हराएको थियो । दोस्रो खेलमा जापानलाई ९ विकेटले हराउँदा तेस्रो खेलमा इन्डोनेसियाविरुद्ध ३७० रनको विशाल जित निकालेको थियो । समूह ए मा नेपालले ४ खेलमा ८ अंक जोडेको छ भने सिंगापुरले ४ खेलबाट ३ जितसहित ६ अंक बटुलेको छ । दुवै टोलीले सेमिफाइनलमा स्थान बनाएका छन् । नेपालले अब सेमिफाइनलमा मलेसियासँग प्रतिस्पर्धा गर्नेछ ।