माओवादी केन्द्रको माग : राज्य व्यवस्था समिति सभापति खतिवडा र सचिवको राजीनामा होस्

काठमाडौं । नेकपा माओवादी केन्द्रले निजामती सेवासम्बन्धी विधेयकमा कुलिङ पिरियडसम्बन्धी विवादपछि प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समिति सभापति रामहरी खतिवडा र समितिका सचिवको राजीनामा माग गरेको छ।
मंगलबार सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै माओवादी केन्द्रका सांसद माधव सापकोटाले विधेयकको अन्तिम पाठमा भएको हेरफेरप्रति आपत्ति जनाउँदै उक्त प्रक्रिया शंकास्पद भएको बताए।
उनले भने, “सभापति खतिवडा स्वयंले हस्ताक्षर गरेको दस्तावेजमा नदेखिएको व्यवस्था कसरी अन्तिम विधेयकमा समावेश भयो? यदि उहाँको प्रत्यक्ष संलग्नता छैन भने पनि नैतिक जिम्मेवारी लिँदै राजीनामा दिनुपर्छ।”
सापकोटाले यस घटनाले संसद्को गरिमा र समितिको विश्वासनीयता खलबल्याएको भन्दै यसबारे संसदीय वा उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने मागसमेत राखे।
प्रतिक्रिया